आमहड्तालको भोलिपल्ट कांग्रेसले भन्यो : जनतालाई दुःख नदिउँ

काठमाडौं । कांग्रेसले आम अहड्तालको भोलिपल्ट अर्थात् शुक्रबार विज्ञप्ति जारी गर्दै जनताले दुःख पाउने गरी बन्द र हड्तालका कार्यक्रम राख्न नहुने बताएको छ । विज्ञप्ति जारी गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यस्तो बताएका हुन् । ‘नेकपाको सरकार बनेपछि जनविरोधी कदमहरु र प्रवृत्ति विरुद्ध नेपाली कांग्रेस संसद र सडक दुबै ठाउँमा सालिन ढंगले प्रस्तुत हुँदै आयो । अनेक घटनाका बाबजुद उपत्यका या नेपाल बन्दको कार्यक्रम हामीले आयोजना गरेनौं’ विज्ञप्तिमा भनिएको छ, ‘संसद विघटनको असंवैधानिक कदम विरुद्धको प्रदर्शनलाई अझ व्यापक बनाउने तर जनताले दुःख पाउने गरि बन्दको आह्वान र आयोजना गर्ने कार्यमा नलाग्न हामी दृढ़ छौं । विघटन विरुद्ध उभिएका सबै दल र संस्थालाई यही अपील समेत गर्न चाहन्छौं ।’ सर्वसत्तावाद उन्मुख विघटनका विरुद्धमा जुटन् आग्रह शर्माले प्रधानमन्त्री के.पी. शर्मा ओलीले गरेको प्रतिनिनिधिसभा विघटनको विरुद्धमा उभिन पनि आग्रह गरेका छन् । ‘पुस ५ गते गरिएको प्रतिनिधि सभा विघटनको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदम ठहर गर्दै नेपाली कांग्रेस आन्दोलनमा छ’ उनले भनेका छन्, ‘विघटन लगत्तै नेपाली कांग्रेसले आयोजना गरेको सर्वदलीय बैठकबाट निर्मित साझा धारणाको पक्षमा आन्दोलनका अलग–अलग कार्यक्रम मार्फत व्यापक जनमत प्रकट भइरहेको छ ।’ विधि विपरीतको प्रवृत्तिप्रति प्रष्ट विमति संवैधानिक परिषद सम्बन्धि संविधानमा ब्यवस्था गरिएको प्रावधान, मर्म र विधिलाई वर्तमान सरकारले शुरु देखिनै कुल्चिंदै आएको कांग्रेसको भनाई छ । ‘संवैधानिक परिषद सम्बन्धि अध्यादेश जारी गर्ने कदम होस् या त्यसपछिको बैठक अथवा पछिल्लो सपथग्रहण । दम्भ र द्वन्द्वको परिणाममा संविधानको मर्म विपरीतको कर्म गर्ने सर्वसत्तावाद उन्मुख प्रवृत्ति विरुद्ध हाम्रो संघर्ष जारी छ, जारी रहनेछ ।’ विज्ञप्तिमा उल्लेख छ । कांग्रेसले माघ २४ मा शुभेच्छुक संस्थाहरुको प्रदर्शन पश्चात फागुन ३ गते ७७ जिल्लामै एकसाथ सशक्त प्रदर्शनको कार्यक्रम गर्दैछ ।
प्रतिक्रिया