फलफूल खेतीतर्फ आकर्षित हुँदै किसान

बागलुङ । ताराखोला गाउँपालिकाका किसान व्यावसायिक फलफूल खेतीतर्फ आकर्षित बनेका छन् । कृषिजन्य उत्पादनमार्फत आत्मनिर्भर बन्ने लक्ष्यसहित किसान फलफूल खेतीमा लागेका हुन् । फलफूल व्यवसाय प्रवद्र्धनका लागि सरकारले घोषणा गरेको ‘फलफूल दशक’ कार्यक्रमअन्तर्गत किसानले अनुदानसमेत पाएका छन् । ताराखोलाका ६०० किसानलाई फलफूल खेतीमा व्यावसायिक बनाउने उद्देश्य लिइएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ती बताउँछन् । उन अनुसार फलफूल खेतीमा सङ्घीय सरकार, गाउँपालिका र किसानको समेत लागत साझेदारी छ । किसानले विभिन्न ठाउँमा गरी छ हजार ८०० ओखर, एक हजार ६०० किबी र ५०० बदामका बिरुवा लगाएका छन् । सात सय ५० हेक्टरमा ओखरखेती गरिएको गाउँपालिकाका आर्थिक विकास शाखा प्रमुख चिन्तामणि शर्माले जानकारी दिए । टर्कीबाट ल्याइएका दाँते ओखरका कलमी बिरुवा दुई हजार ८०० र नेपालमै खरिद गरिएको चार हजार बिजु बिरुवा किसानलाई वितरण गरिएको उनको भनाइ छ । टर्कीबाट ल्याउँदा ५५० रुपैयाँ मूल्य परेको ओखरको कलमी बिरुवा किसानलाई ५० प्रतिशत अनुदानमा दिइएको छ । यस्तै नेपालकै बिजु बिरुवा किसानले ७५ रुपैयाँ मा पाएका छन् । कृषि प्राविधिकको अध्ययनबाट ओखरखेतीका लागि ताराखोलाको माटो र हावापानी उपयुक्त देखिएपछि खेती शुरु गरिएको हो । ‘न्यूनतम दुई रोपनी क्षेत्रफलदेखि माथि ओखर खेती गर्ने किसान हुनुहुन्छ’, शाखा प्रमुख शर्माले भने, ‘५५० रुपैयाँ पर्ने ओखरको बिरुवा किसानले जम्मा २५० रुपैयाँ मा पाउनुभएको छ ।’ पँधेराखोला र बराहखोलामा ठूलो मात्रामा ओखर खेती गर्ने योजनामा किसान छन् । न्यूनतम दश बिरुवासम्म लगाउने किसानले मात्र अनुदान पाएको गाउँपालिकाले जनाएको छ । ओखरसँगै किबी र बदामका बिरुवा पनि किसानलाई अनुदानमा वितरण गरिएको छ । हाल आठ हेक्टरमा रहेको किबी खेती विस्तारका लागि यो वर्ष थप एक हजार ६०० बिरुवा अनुदानमा बाँडिएको हो । तीन सय रुपैयाँ पर्ने किबीको बिरुवामा पनि किसानले ५० प्रतिशत अनुदान पाएका छन् । यसअघि किबी पकेट क्षेत्रमा समेटिकाबाहेक वडा नं ३ को बराहखोला, पँधेराखोला, वडा नं २ को खुल्डाँडा, हल्पु, नागबेली खोला, वडा नं ५ को औलादी, मपेस, सिपपलगायतका ठाउँमा किबी खेती शुरु गरिएको हो । यस्तै ताराखोलामा पहिलोपटक बदाम खेती पनि शुरु गरिएको छ । किसानलाई बदामका ५०० बिरुवा वितरण गरिएको गाउँपालिकाले जनाएको छ । पाँच सय रुपैयाँ पर्ने बदामको बिरुवा अनुदान छुटमा किसानले २५० रुपैयाँ मा पाएका छन् । बिरुवा रोप्नका लागि एक खाल्डो बराबर ३० रुपैयाँ अनुदान किसानलाई उपलब्ध गराइएको छ ।
प्रतिक्रिया