निर्मला पन्तको जस्तै विभत्स हत्या गरिएकी भागरथी भट्टबारे कसले के भने ?

काठमाडौं । १० साउन २०७५ मा कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्या भएकोमा अझै अपराधीलाई कानुनी कठघरामा उभ्याउन सकिएको छैन । पन्तका हत्याका दोषी पत्ता नलाग्दै बैतडीकी १७ वर्षीया भागरथी भट्टकाे उसैगरी विभत्स तरिकाले हत्या गरिएको छ । १२ कक्षा पढ्दै गरी भागरथीको बुधबार पढेर घर फर्किने क्रममा विभत्स हत्या भएको हो । हराएको एक दिनपछि घरभन्दा दुई किलोमिटर परको जंगलमा उनको शव भेटिएको थियो । विद्यालयबाट फर्किदैं गरेका विद्यार्थीहरूले जंगलमा बनमारा झाडीमा उनको शव देखेपछि गाउँलेलाई खबर गरेका थिए । वाणिज्य संकायमा १२ कक्षा पढ्दै गरेकी भागरथीको घटना पनि निर्मला पन्तको जस्तै विभत्स देखिएको देखिएको छ । भागरथीको बलात्कारपछि हत्या गरिएको पाइएको छ । टाउको, शरिर र हातमा चोट लागेको छ । उनको यौनांगबाट रगतसमेत बगेको पाइएपछि बलात्कारपछि हत्या भएकाे भन्दै प्रहरीले अनुसन्धान अगाडि बढाइसकेको जनाएको छ । दुई महिना अघि मात्रै भागरथीका बाबुको मृत्यु भएको थियो । निर्मलाको जस्तै फितलाे अनुसन्धान नहोस् भट्टको हत्यापछि राजनीतिक दलका नेताहरुले सो घटना निर्मला पन्तको जस्तो नहोस् भनेर सचेत गराएका छन् । नेकपाका अध्यक्ष प्रचण्ड र माधव नेपालले घटनाप्रति दुःख व्यक्त गर्दै गम्भीरतापूर्वक घटनाको छानविनको माग गरेका छन् । ‘यहि माघ २२ गते बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नं। ७ चडेपानी निवासी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाले हामी स्तब्ध र मर्माहत भएका छौं । विद्यालयबाट घर फर्किंदै गरेको बेला वर्ष १७ की किशोरी भागरथी भट्टमाथि भएको पाशविक र अमानवीय कुकृत्यको हामी घोर भर्त्सना गर्दछौं’ उनीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘डेढ वर्षअघि निर्मला पन्तको हत्या र त्यसमा न्याय नपाएको अवस्थाले सिर्जना गरेको आम जनताको आक्रोश सेलाउन नपाउँदै बैतडीमा घटेको समान प्रकृतिको घटनाले आम नागरिकलाई शान्ति सुरक्षा दिन राज्यसंयन्त्र असफल भएको तथ्यलाई नै प्रमाणित गरेको छ । विगतमा निर्मला पन्तको अनुसन्धान जस्तै यो घटनामा गैरजिम्मेवार नबन्न सरकारसँग आग्रह गर्दै सत्यतथ्य सार्वजनिक गरि दोषीमाथि कडा कार्वाही गर्न माग गर्दछौं ।’ त्यस्तै कांग्रेस सभापति शेरबहादुर देउवाले पनि ट्वीटरमा लेख्दै घटनाबाट मर्माहत भएको भन्दै अनुसन्धान गरेर दोषीलाई कारवाही गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिक्रिया