तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी

सिद्धार्थनगर । गौतमबुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य राज्यको राजधानी तथा विश्वको सबैभन्दा ठूलो खुला सङ्ग्रहलाय दाबी गरिएको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने अभियान शुरु गरिएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत हुनका लागि आवश्यक संरक्षित स्मारक क्षेत्र घोषणा गर्नुपर्ने आवश्यकतानुसार नेपाल सरकार पुरातत्व विभाग, लुम्बिनी विकास कोष र कपिलवस्तु नगरपालिकाले संयुक्तरूपमा स्थानीयस्तरको छलफल गरेसँगै उक्त कामको थालनी भएको हो । प्राचीन शाक्यहरूको राजधानी तिलौराकोटलाई विश्व सम्पदा सूचीमा जतिसक्दो छिटो सूचीकृत गर्न स्थानीय सरकारको तर्फबाट पूर्णरूपमा सहयोग गर्ने कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंहले बताए । नेपाल सरकारको पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवरले पुरातत्वको दृष्टिकोणले तिलौराकोट अत्यन्तै महत्वपूर्ण ठाउँ रहेको बताए । उनले तिलौरोकोटको मुख्य क्षेत्र (कोरजोन) करिब १४० बिघा क्षेत्रफलको हुने बताउँदै स्थानीय बासिन्दा र स्थानीय सरकारले सहयोग गरेमा छिट्टै तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत गराउन सफल हुने बताए । नेपाल सरकार पुरातत्व विभागको विश्व सम्पदा संरक्षण शाखा प्रमुख डा सुरेश श्रेष्ठले विश्व सम्पदा सूचीमा सूचीकृत गर्नुपूर्व संरक्षित स्मारक क्षेत्र घोषणा गर्नुपर्ने अनिवार्य प्रावधानअनुसार काम अगाडि बढाउन थालेको बताए । डा श्रेष्ठले स्थानीय बासिन्दा र स्थानीय सरकारको हरेक किसिमको सहभागितासहित संरक्षित स्मारक क्षेत्र घोषणा भएलगत्तै तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत कार्य अगाडि बढ्ने बताए । लुम्बिनी विकास कोषका कार्यकारणी सदस्य राजेश ज्ञवालीले लुम्बिनी विकास कोषले कपिलवस्तु केन्द्रीत कार्यक्रम अगाडि बढाइरहेको बताए । कोषका वरिष्ठ प्रशासकीय अधिकृत ज्ञानिन राईले नेपाल सरकारको चालु वर्षको बजेटको नीति तथा कार्यक्रममा तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने प्रक्रिया अगाडि बढाइने छ भनी उल्लेख भएसँगै लुम्बिनी विकास कोषले छलफललाई अगाडि बढाएको बताए । लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले प्राचीन शाक्यहरुको राजधानी तिलौराकोटको संवद्र्धन र संरक्षणका लागि लुम्बिनी विकास कोषले कुनै कसुर बाँकी नराख्ने बताए । सदस्यसचिव शाक्यले भने “लुम्बिनी विकास कोषको अबको मुख्य ध्यान र कार्यक्रम नै कपिलवस्तु केन्द्रित हुन्छन् । हामी तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गरेसँगै अन्य क्षेत्रको संरक्षण र प्रवर्धनमा जोड दिन्छौँ ।”
प्रतिक्रिया