लकडाउनमा निःशूल्क खाना खुवाएको समूहले खोल्यो रेष्टुराँ, ६५ रुपैयाँमै पेटभरी खाना [भिडियो रिपाेर्ट]

https://youtu.be/3p-YTtjiwUA काठमाडौँ – कामको शिलशिलामा होस या अन्य कुनै कारणले, सधैं घरमा खाना खान भ्याइँदैन ।त्यसमाथि स्तरिय होटल/रेष्टुराँमा खाना खाने आर्थिक हैसियत पनि अधिकांशको छैन । न्यून र गुणस्तरहिन खानेकुराको बिगविगी रहेको शहरमा जहाँ पायो त्यहीं खाने कुरा पनि भएन । एकातिर महंगो मूल्य तिर्न नसक्ने, अर्कातिर न्यून र स्वास्थ्य जोगाउन र गुणस्तरहिन खानेकुराबाट बच्नु पनि पर्ने असहजतामा आम उपभोक्ता छन् । काठमाडौंमा यस्तो समस्या झनै विकराल छ । सस्तो र सफा खाना खाने ठाउँ भेट्नै मुस्किल छ । साधारण रेष्टुराँमा पनि सादा खानाको न्यूनतम मूल्य पनि सय रुपैयाँ छ । तर, त्यस्ता रेष्टुराँहरूले खानाको मूल्यसँग सरसफाइ र स्वास्थ्य संवेदनशीलतालाई सम्झौता गरिदिन्छन् । जसका कारण हत्तपत्त त्यस्ता रेष्टुराँमा छिरेर खाना खान उपभोक्ताहरू हिच्किचाउँछन् । काठमाडौंवासीको यही समस्यालाई मध्यनजर गरेर अनामनगरमा यस्तै रेष्टुराँ सञ्चालनमा आएको छ । जहाँ ६५ रुपैयाँमै खाना पाइन्छ । काठमाडौं उपत्यकामा निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले सस्तोमा खाना खुवाउने रेष्टुराँ सञ्चालनमा ल्याएको छ । जहाँ अब ६५ रुपैयाँमा थपिथपि खाना खान पाइन्छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि समस्यामा परेका मानिसहरूलाई खाना खुवाउँदै आएको उक्त समूहलेसस्तोमा खाना खुवाउने रेस्टुराँ सञ्चालनमा ल्याएको हो । रेस्टुरेन्ट सञ्चालनमा आएसँगै दैनिक ८ सयको हाराहारीमा मानिसहरू खाना खान त्यहाँ पुग्ने गरेका छन् । सस्तोमा खाना खान पाउँदा सर्वसाधारण पनि खुसी देखिन्छन् । खाना खाँदै गरेका नितेश पाण्डे थोरै आम्दानी हुनेले पनि सस्तोमा मिठो खाना खान पाउने गरी रेस्टुराँ सञ्चालनमा आएकोमा खुसी व्यक्त गर्छन् । यसले कम आम्दानी हुनेलाई पनि सहज भएको उनको भनाइ छ । रेष्टुराँबाट आर्जन हुने कमाइले भोकालाई भोजन गराउने हाम्रो टिम नेपालकी संस्थापक सदस्य कविता पौडेलले बताइन । निम्न वर्गका मानिसलाई काठमाडौंमा सस्तोमा खाना उपलब्ध गराउन सके समाजसेवा हुने उनको भनाइ छ । ‘खर्च र जनशक्ति त धेरै नै लाग्छ तर पनि सेवा गरौँ भन्ने भावनाले ६५ रुपैयाँमा खाना खुवाउने रेस्टुराँ खोलिएको हो,’ उनी भन्छिन् । २० लाख रुपैयामँ भन्दा बढी लगानी गरेर खोलिएको रेष्टुराँमा सादा खानामात्र पाइन्छ । खानाका अतिरिक्त दही र मोही पनि पाइन्छ । दही र मोहीको भने छुट्टै मूल्य तिर्नुपर्छ । दहीको २५ र मोहीको २० रुपैयाँ छ।
प्रतिक्रिया