NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

शहरका फोहोर भित्तालाई क्यानभास बनाउँदै लक्ष्मण

काठमाडौं । सिनामंगलबाट भिमसेनगोला लाग्दा पर्खालभरी विभिन्न रंग र आकृतिका चित्र देखिन्छन्। थरिथरिका चित्रले घरका भित्ता र सडक छेउका पर्खाल रंगीन बनेका छन् । बाटो हिँड्दा पर्खाल सामुन्ने बसेर फोटो खिचुँचिखुँझैं हुन्छ । तर, यी पर्खाल महानगरले सजाएको होइन, न त स्थानीयले नै । यी सामान्य पर्खाललाई चित्रले भरेर क्यानभासको रुप दिने रचनाकार हुन्, लक्ष्मण श्रेष्ठ । भिमसेनगाेलामा लक्ष्मणले बनाएका चित्रतस्बिरः शालिक भट्ट सुर्खेतका रैथाने लक्ष्मण विगत तीन वर्षदेखि भिमसेनगोलाका भित्ताहरूलाई आफ्नो क्यानभास बनाइरहेका छन्, जुन ठाउँसँग उनको दूरदूरको पनि सम्बन्ध छैन । लक्ष्मणको १०१ अभियान काठमाडौंका विभिन्न पर्खालहरुमा चित्र कोर्दै हिँडने लक्ष्मणले भिमसेनगोलाका भित्ताहरूमा चित्र बनाउने अभियान चलाएका छन्, जसलाई उनले ‘१०१ मुभमेन्ट’ नामाकरण गरेका छन् ।उनको अभियान पूरा हुन अब केही चित्र बाँकी छन् । ‘१०१ मुभमेन्ट भनेको भिमसेनगोलाको भित्तामा १०१ वटा चित्र बनाउने मुभमेन्ट हो,’ उनी भन्छन् ।उनीसँगै अन्य दुई जना मिलेर यो अभियान सुरु गरेका थिए । तर, अहिले उनी एक्लै छन् । एक्लै भए पनि उनी डगमगाएका छैनन् । बरु, एकनासले रंगमा कुची चोबल्दै भित्तामा रंग पोतिरहेका छन् । निर्जिव भित्तालाई रंगले भरेर क्यानभासको रुप दिइरहेका छन् । भिमसेनगाेलामा लक्ष्मणले बनाएका चित्रतस्बिरः शालिक भट्ट कहाँबाट आयो त भित्तालाई क्यानभासको रुप दिने सोच ? हामीले पशुपति परिसरमा लक्ष्मणलाई प्रश्न ग-र्यौं । जवाफ दिनुअघि श्रेष्ठ एकछिन मौन रुपमा ‘नोस्टाल्जिक’ भए । अनि विस्तारै आफ्नो विगतका घटनाहरु सुनाउन थाले, जसले उनलाई यी भित्ता रंग्याउने सोचसम्म पु-याएको थियो । लक्ष्मणले सडकमा कैयौं रात विताएका छन् । जसका कारण सडकप्रति उनलाई खुब लगाव छ । ‘मान्छेको जिन्दगीमा सडक हरेक तरिकाले जोडिएको हुन्छ,’ उनी भन्छन्, ‘सडक टेकेर हिँडेपछि यसको महत्व पनि बुझ्नुपर्छ ।’ जीवनमा सडक एक अभिन्न अंगजस्तै बनेर बसेको जस्तो लाग्छ उनलाई । सडक र जीवनबीच अटुट सम्बन्ध भएको मान्ने लक्ष्मण त्यही सम्बन्धको डोरी समाउँदै भित्ता रंग्याउन पुगेको बताउँछन् । पत्रिकाको फोटो देखेर जागेको तृष्णा सडकमा कोर्दै हिँडने, सामाजिक सञ्जालमा अनेक भिडियो हाल्ने लक्ष्मणलाई प्रायःले युवा सोच्न सक्छन् । तर, अनुभवले धेरै पाका उनी उमेरले पनि चार दशक उकालो लागिसके । उमेरको यो विन्दुमा आइपुग्दा रंग, कुची र क्यानभाससँग सम्बन्ध गाँसेको भने धेरै भएको छैन् । भिमसेनगाेलामा लक्ष्मणले बनाएका चित्र तस्बिरः शालिक भट्ट सन् २०१२ एक सामान्य साँझ । लक्ष्मण अन्य दिनजस्तै त्यो दिन पनि साथीभाइसँग चियागफमा थिए । त्यत्तिकैमा एक साथीले उनलाई पत्रिकामा छापिएको एउटा फोटो देखाउँदै भन्यो – लक्ष्मण, हेर त कति राम्रो फोटो ! पत्रिकाको पानामा स्वयम्भूमा चराले आफ्ना बच्चालाई चारो खुवाउँदै गरेको त्यो तस्बिर देख्नसाथ लक्ष्मण आफ्नो बाल्यकालमा फर्किए । त्यो बाल्यकाल जब उनमा चित्र कोर्ने हुटुहुटी थियो ।वर्षौंपछि फेरि उनमा त्यही हुटहुटी जागेर आयो । बाल्यकालमा चित्र कोर्ने लक्ष्मणको चित्रकलासँगको सम्बन्ध उमेर उकालो लागेसँगै टाढिएको थियो । आफैंभित्रको चित्रकारसँग साक्षत्कार नभएको वर्षौं भइसकेको थियो । तर, त्यो साँझ त्यो फोटो देखेपछि भने उनले आफैंभित्रको चित्रकारलाई फेरि भेट्ने रहर जाग्यो ।वर्षौंपछि उनका हातले क्यानभास र कुची छुन मन गरे । ‘त्यो दिन एक्कासी के झट्का लाग्यो बुझ्नै सकिनँ,’ उनी सम्झिन्छन्, ‘त्यो पत्रिका घर लिएर गएँ र त्यसको चित्र कोरें ।’ त्यो साँझ घर पुगेपछि उनको जीवनको नयाँ अध्याय सुरु भयो । ३० वर्ष पुगिसकेका लक्ष्मणले आफ्नो रहरलाई चिने । पत्रिकामा छापिएको तस्बिरको चित्र कोरेपछि उनी चित्रकलालाई नै निरन्तरता दिने मनसायमा पुगे । अकाउन्टेन्टको जागिर छाडेर कलेज भर्ना, शुल्क बुझाउन नसकेपछि छाडे चित्रकलालाई निरन्तरता दिने ध्येयले सन् २०१२ मा लक्ष्मण ललितकला क्याम्पसमा भर्ना भए ।कलाप्रतिको तृष्णा उमेरले तीन दशक काटेपछि बल्ल आभास भएको थियो लक्ष्मणलाई । र, त्यही तृष्णालाई पछ्याउने निधोसँगै हरेक महिना पारिश्रमिक आइरहेको ‘अकाउन्टेन्ट’को जागिर छाडे । लक्ष्मण श्रेष्ठतस्बिरः शालिक भट्ट कलेजमा वर्र्षको १२ हजार रुपैयाँ तिनुपथ्र्यो । त्यहाँ दोस्रो वर्षमा पढ्दा पढ्दै उनले बुझाउने रकम जुटाउन सकेनन् । फि तिर्न नसक्दा जाँच दिन नपाएपछि उनले ललितकला क्याम्पस छाडे । ललितकला छाडेपनि चित्रकला पढ्ने हुटहुटीले उनलाई छाडेको थिएन् । चित्रकला पढ्न भारत जाने प्रयास पाँच पटकसम्म असफल भएपछि थाले भित्ता पोत्न ललितकला छाडेपछि लक्ष्मणले भारतको मुम्बईस्थित ‘सर जेजे स्कुल अफ आर्टस्’ विश्वविद्यालयमा जाने प्रयास सुरु गरे । पाँच पटकसम्म उनको प्रयास विफल भयो । इन्टरमिडेटमा ५० प्रतिशत आउनेलाई मात्रै उक्त विश्वविद्यालयमा भर्ना लिइन्थ्यो । तर, आफ्नो ४८ प्रतिशत मात्रै भएकाले भर्ना नपाएको बताउँछन्, लक्ष्मण । पाँच पटकसम्म प्रयास गर्दा पनि नभएपछि उनले निर्णय गरे – आफैं अभ्यास गर्ने । उनी भन्छन्, ‘अन्त्यमा गुरुले सिकाए/नसिकाए पनि अभ्यास त आफैंले गर्नु नै पथ्र्यो ।’ आफू भिमसेनगोला नै बस्ने भएकाले उनले निर्णय गरे – यहींका भित्तामा पेन्टिङ गर्ने । र, तिनैलाई आफ्नो अभ्यासको थलो बनाउने । ‘औपचारिक गुरु थापेर सिक्ने मौका नमिलेपछि मैले पर्खाललाई नै आफ्नो अभ्यास थलो बनाएँ, भित्तालाई नै आफ्नो गुरु थापना गरें,’ उनी भन्छन्, ‘त्यही बेला १०१ मुभमेन्ट जन्मिएको हो ।’ प्राकृतिक चित्रसँगै उनले सडकमा समाजिक विषयका चित्र बनाएका छन् । कैयौं पटक सरकारप्रतिको वितृष्णा पनि उनले भित्तामा चित्रमार्फत उतारेका छन् । त्यस्ता पेन्टिङ बनाएको हप्तादिनमै महानगरले मेटाइ पनि दिएको छ । सडकदेखि संग्रहालयसम्म लक्ष्मणका पेन्टिङ लक्ष्मणका चित्रहरूले समाजका कथा बोल्छन् । सडकका पर्खालमा बनेका चित्र हुन् या बन्द कोठाभित्र बसेर क्यानभासमा बनाइएका चित्र । उनका हरेक चित्रहरू कुनै न कुनै रुपमा सामाजसँग जोडिन्छन् । लक्ष्मणले सन् २०१८ बनाएको ‘स्टार्भिङ मुन’ नामक पेन्टिङ, जुन ‘एसियन आर्ट बाइनाले’मा छनोट भएको थियो । लक्ष्मणले ०७२ को विनासकारी भूकम्पलाई लिएर बनाएका ‘क्वेक’ नाम गरेको पेन्टिङ यतिबेला मुम्बइको प्रतिष्ठित ‘ग्यालेरी सेभेन’ ले संग्रह गरेको छ । सन् २०१८ मा उनले ‘स्टार्भिङ मुन’ नाम गरेको पेन्टिङ बनाएका थिए, जुन कलाको इतिहासमा अन्तराष्ट्रिय प्लेटफर्म ‘एसियन आर्ट बाइनाले’मा छनोट भएको कृति हो । ‘ग्यालेरी सेभेन’ मा संग्रहित तथा एसियन आर्ट बाइनालेमा छनोट भएको लक्ष्मणको ‘क्वेक’ नामक पेटिङ भूकम्पमा आधारित रहेको ‘क्वेक’ बंगलादेशमा भएको १७ औं एसियन आर्ट बाइनालेमा छनोट भएको थियो भने ‘स्टार्भिङ मुन’ पनि १८ औं एसियन आर्ट बाइनालेमा छनोट भएको लक्ष्मण बताउँछन् ।