ओलीले मदन भण्डारीलाई छोडेर पशुपतिनाथको मन्त्र जप्न थाले : नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ‘प्रचण्ड–नेपाल’ पक्षका अध्यक्ष तथा वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीले जप्दै आएको मदन भण्डारीको नाम बिर्सेर पशुपतिनाथको मन्त्र जप्न थालेको बताए । आज आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेपालले ओलीलाई पशुपतिनाथले पनि माफ नगर्ने बताए । ‘पशुपतिनाथले असल, राम्रो प्रवृत्तिको, धर्म गर्नेलाईमात्र माया गर्छन्,’ नेपालले भने, ‘पाप गर्नेलाई पशुपतिले पनि माफ गर्दैनन् ।’ नेता नेपालले ओलीलाई संविधान मिच्दै विचार/पद्धती, लोकतन्तको हत्या गरेको र जनाधिकार कुल्चिएर पाप गरेको आरोप लगाए । ओलीले आफूलाई प्रधानमन्त्री बनाएको पार्टी नै सिध्याउनतिर लागेकाले यो पाप धूपबत्ती बालेर नपखालिने नेपालले बताएका छन् । ओलीको यो कदमप्रति नेपालले धिक्कार व्यक्त गरे । ओलीको असंवैधानिक कदमको विरुद्ध देशका सबै जिल्लामा आफूहरूले गरेको कार्यकता भेलाको उपस्थितीलाई ओलीले नदेखेको उनले बताए । ‘धनगढी, सुर्खेत, सिराहा, विराटनगरलगायतका शहरमा भएको विरोध सभामा रहेको अपार उपस्थितीलाई केपी ओलीले देख्न सकेनन् । सिंगो नेपाली जनताको भावनालाई ओलीले बुझ्न सकेनन्।’ ओलीले आफ्नो शासनकालमा देशमा बलत्कृत चेलीहरुको आत्माप्रति संवेदना नदेखाएको आरोप पनि नेपालले लगाए । उनको यो असंवेदनशिलता देखेर लाज लागेको बताउँदै नेपालले धिक्कार व्यक्त गरे ।
प्रतिक्रिया