म्यान्मारका सैनिक नेतामाथि अमेरिकाको प्रतिबन्ध

काठमाडौं । म्यान्मारको सैन्य ‘कू’प्रति सुरुदेखि आक्रामक अमेरिकाले त्यहाँका सैनिक नेतामाथि प्रतिबन्धको घोषणा गरेको छ । गत नोभेम्बरको जनमतलाई कुल्चँदै ‘कू’ गरेका म्यान्मारका सैनिक नेतामाथि अमेरिकी सरकारले प्रतिबन्ध लगाएको हो । बीबीसीका अनुसार, अमेरिकी राष्ट्रपति जो बाइडनले म्यान्मारका सैनिक नेताहरूमाथि प्रतिबन्ध लगाउने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। यस्तो हस्ताक्षरसँगै म्यान्मारका सैनिक नेता, तिनका परिवारमाथि प्रतिबन्ध हुने भएको छ । तर प्रतिबन्ध लगाउने सैनिक नेताको नाम भने सार्वजनिक गरिसकिएको छैन । यसै साता ती नामबारे टुंगो लगाइने बाइडनले बताएका छन् । सेनासँग सम्बद्ध व्यापार तथा व्यवसाय पनि यो प्रतिबन्धसँगै प्रभावित हुनेछन् । यसअघि पनि अमेरिकाले म्यान्मारका कैयौँ वरिष्ठ अधिकारीहरूलाई कालोसूचीमा राखेको थियो । जसको कारण भने रोहिंज्या मुस्लिमहरूविरुद्धको दमन थियो । प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका बाइडनले सैन्य कू फिर्ता लिन र नजरबन्दमा रहेका नेत्री आङ साङ सू ची, राष्ट्रपतिलगायतलाई रिहा गर्न त्यहाँको सेनालाई आग्रह गरेका छन् । अन्यथा आवश्यक थप कदम चाल्ने चेतावनी पनि उनले दिएका छन् । उनले भनेका छन्, ‘म्यान्मारका जनताले सैनिक कुविरुद्ध बुलन्द पारेको आवाज विश्वले सुनिरहेको छ ।’ अमेरिकामा रहेको सरकारी कोषमा सेनाको पहुँच रोक्ने योजना पनि अमेरिकाले बनाएको बीबीसी समाचारमा उल्लेख छ । अमेरिकाको सरकारी कोषमा सेनाको एक अर्ब डलर बराबरको पहुँच रहेको बताइन्छ । म्यान्मारमा गत साता त्यहाँको जनविर्नाचित सांसदले शपथ लिनु अघिल्लो दिन सेनाले सत्ता कब्जा गरेको थियो । सैनिक कू गरेपछि विश्वभर त्यसको विरोध भइरहेको छ भने देशभित्र प्रदर्शन चर्कंदै गइरहेको छ । मंगलबार मात्रै त्यहाँ प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा, गोली प्रहार गरेको थियो ।
प्रतिक्रिया