प्रहरीले पक्राउ नै गर्नुपर्ने गरी गोरखामा राष्ट्रपतिविरुद्ध यस्तो बोलेकी थिइन् झाँक्रीले

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अभिव्यक्ति दिएको भन्दै प्रहरीले नेकपाकी नेतृ रामकुमारी झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियाे । १० बजे बाेलाइए पनि उनी नगएपछि प्रहरीले उनलाई शंखमूलस्थित निवासबाटै राज्यविरुद्दकाे कसुरमा पक्राउ गरेकाे छ । केही दिन अघि गोरखामा उनले राष्ट्रपतिविरुद्ध अनर्गल प्रचार गरेको भन्दै प्रहरीले सोधपुछका लागि उनलाई बोलाएको थियाे । तर पुर्जी पाएपछि मात्रै प्रहरीसँग जाने अडान लिएपछि उनलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेकाे हाे । महाशाखाका प्रमुख एसएसपी दीपक थापाले राष्ट्रपतिको संस्थाविरुद्ध बोलेकोले उनलाई सोधपुछका लागि बोलाएको जानकारी दिएका थिए । प्रहरीले बोलाएको समयमा नआए उनलाई पक्राउ गर्ने तयारी थियाे । सोधपुछकै क्रममा उनलाई नियन्त्रणमा लिने संकेत प्रहरीले दिएको छ । गोरखामा झाक्रीले यस्तो बोलेकी थिइन् राष्ट्रपतिका कुरा त के गर्ने। बडामहारानीले चुनाव हुन्छ भन्नुभएछ अस्ति निर्वाचन आयोगको प्रतिवेदन बुझ्दै। म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु। निर्वाचनको तयारीका लागि सुख सुविधा छोडेर, कारगेड छोडेर, शीतल निवास छोडेर पहिला कोटेश्वरमा आउनुस्। चावहिल कि कोटेश्वर कतातिर बसाइ छ भन्ने सुन्याथेँ। होइन भने बालकोटै गए पनि हुन्छ। र, नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो त्यसको तयारी गरेर सन्देश पठाउनुस्। तपाईसँग म पनि अलि भारी हुन्छ होला। यही रेखा लोप्चनलाई चुनाव लडाउँछौं र हराउँछौं। तपाईंका लागि म पनि भारी हुन सक्छु। त्यसकारण बडामहारानीले हामीले प्राप्त गरेका हामीले संघर्ष गरेर ल्याएका अधिकारहरुमाथि गिद्दे दृष्टि लाएर एउटा खास गुटको मान्छेको तुष्टि फेर्नका लागि गरिएका असंवैधानिक कदम किमार्थ पनि स्विकार्य हुनसक्दैन। यो नेकपा एमालेले ५० सालमा गरेको भूल थियो। यहाँ अन्यथा नहोस् यहाँ तमाम महिला दिदीबहिनी हुनुहुन्छ। सहिद परिवार हुनुहुन्छ। यहाँहरुलाई भन्न खोजेको होइन। मदन भन्डारीको हत्यापछि सेतो साडी ल्याएर जुन शक्ति आर्जन गर्ने जुन गलत संस्कृतिको सुरुवात गरेको थियो नेकपा एमालेले त्यसको प्रतिउत्पादन हो विद्या भन्डारी। आज यो संविधानको चीर हरण गर्ने कारण बनेको छ।
प्रतिक्रिया