NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

पत्रपत्रिका समीक्षा : झाँक्री पक्राउ र अखबारले छुटाएको पाटो

काठमाडौं । नेकपा (प्रचण्ड–माधव नेपाल समूह) कि नेत्री रामकुमारी झाँक्री पक्राउको विषय आजका सबैजसो दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेका छन् । राष्ट्रपतिमाथि अमर्यादित टिप्पणीको आरोपमा झाँक्रीलाई बिहीबार प्रहरीले पक्राउ गरेको थियो । तर चौतर्फी आलोचना र खबरदारीपछि सरकारले उनलाई ६ घण्टापछि नै रिहा गर्यो । पत्रपत्रिकाहरूले झाँक्री पक्राउलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भनेका छन् । कान्तिपुरले झाँक्रीलाई नियन्त्रणमा लिएर सरकारले अभिव्यक्तिमा अंकुश लगाउने प्रयास गरेको ठहर गरेको छ । विगतमा निरंकुश राजसंस्थाविरुद्ध अग्रमोर्चामा लडेकी झाँक्रीलाई गणतन्त्रमा कसैप्रति टिप्पणी गरेकै आधारमा नियन्त्रणमा लिएर इतिहासमाथि नै भद्दा मजाक गरिएको कान्तिपुर समाचारको सार छ । नेता समाजका अगुवा हुन् । उनीहरूको बोली, चालचलन र व्यवहार निश्चय नै अनुकरणीय र सर्वसाधारणले पछ्याउन लायक हुनुपर्छ । तर झाँक्रीले अभिव्यक्ति स्वतन्त्रताका नाममा राष्ट्रपतिको चरित्रमाथि उग्र अभिव्यक्ति दिनु कमजोरी थियो । तर यहाँनिर भने कान्तिपुरको सन्तुलन गुमेको छ । उसले अभिव्यक्ति स्वतन्त्रताका नाममा झाँक्रीमा आएको विचलनको पाटोलाई नजरअन्दाज गरेको छ ।झाँक्री पक्राउकै विषयमा मुख्य समाचार बनाएको नयाँ पत्रिका दैनिकले सरकारबाटै लोकतान्त्रिक गणतन्त्रको अवहेला भएको निष्कर्ष निकालेको छ । त्यस्तै, गणतान्त्रिक आन्दोलनकी फन्टलाइनरलाई बोलेकै आधारमा राज्यविरुद्ध मुद्दा लगाएर इतिहासमाथि मजाक गरिएको कान्तिपुरको जस्तै ठहर नयाँ पत्रिकाको पनि छ । तर कान्तिपुरजस्तै, अभिव्यक्ति स्वतन्त्रताको दायरा नाघेकी झाँक्रीको कमजोरीप्रति नयाँ पत्रिका पनि मौन छ ।झाँक्री पक्राउको विषयले अधिकांश पत्रिकाको पहिलो पृष्ठ रंगिएको भए पनि सरकारी मुखपत्र गोरखापत्रको पहिलो पृष्ठमा भने यो यो प्रसंग नै अटाएको छैन । उसले धरहरा अनुगमनका क्रममा प्रधानमन्त्रीले व्यक्त गरेको भनाइलाई मुख्य समाचार बनाएको छ ।