माओवादीको केन्द्रीय कमिटी बैठक आज, एमालेमा लागेका नेताहरूलाई कारबाही तयारी

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ। माओवादीको शनिबार सम्पन्न स्थायी कमिटीको निर्णय अनुसार केन्द्रीय कमिटी बैठक बिहान ११ बजे बस्न लागेको हो। बैठकमा सत्ता समीकरण र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने नेताहरूले बताएका छन्। माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलका अनुसार एमालेमा लागेर जिम्मेवारी पाएका नेताहरूलाई कारबाहीका विषयमा पनि छलफल हुनेछ। शनिबारको स्थायी कमिटीले सरकारमा रहेका सात मन्त्रीलाई फिर्ता बोलाउने र एमालेमा गएका २३ नेतालाई २४ घन्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। नेताहरू आइतबारसम्म पार्टीमा नफर्के कारवाही गर्ने माओवादीको तयारी छ। गृहमन्त्री रामबहादुर थापा, उद्योगमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानी मन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी सरकारमा छन्। एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सात जना मन्त्रीसहित २३ माओवादी नेतालाई शुक्रबार एमालेको केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए। माओवादीबाट रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह, दावा लामा र गौरीशंकर चौधरी मन्त्री छन्। तत्कालीन नेकपा विभाजन हुँदा यी नेताहरु ओली समूहमा लागेका थिए। र, हाल एमाले, माओवादी केन्द्र ब्यूँतिदा उनीहरु एमालेमा लागेका हुन्। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले थापासहित २३ नेतालाई पार्टीमा मनोनित गरेका थिए। तीमध्ये, बादलले बागमती र भट्टले सुदूरपश्चिम प्रदेशको इन्चार्जको जिम्मेवारी पाएका थिए।
प्रतिक्रिया