धुर्मुसले उपप्रधानमन्त्रीलाई भेटेरै भने– बजेट भए एक वर्षमै रंगशाला तयार गर्छौं
काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका विषयमा चासो लिएका छन् । क्रिकेट रंगशाला निर्माणका प्रमुख अभियन्ता एवम् धुर्मस–सुन्तली फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’लाई आज सिंहदरबारस्थित आफ्नै कक्षमा भेट्दै उपप्रधानमन्त्री पोखरेलले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा भइरहेका प्रगति र सरकारले गर्न सक्ने सहयोगका विषयका छलफल गरेका हुन् । उपप्रधानमन्त्री पोखरेलले प्रेरणादायी, प्रसंशनीय कार्य गरेको भन्दै धुर्मस–सुन्तली फाउन्डेशनको प्रशंसा गरे । ‘अनुकरणीय काम गर्नुभएको छ, जुन सपना देख्नुभयो, त्यसमा चुनौती पनि आउँछन्, तर दृढतापूर्वक लाग्नुपर्छ, उठेका सबै प्रश्नको जवाफ कामले दिनुपर्छ,’ उपप्रधानमन्त्री पोखरेलले भने । राज्यका तर्फबाट रंगशालालाई सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउँदै उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि यसबारे छलफल गर्ने विश्वास व्यक्त गरे । उपप्रधानमन्त्रीले भेट्न बोलाएर रंगशालाको बारेमा चासो लिएपछि धुर्मस निकै भावुक बनेका थिए । आफू राज्यलाई सघाउने अभियन्ता भएको भन्दै धुर्मुसले टुहुरो जस्तो भएको बेला आफैले बोलाएर चासो लिएकोमा उपप्रधानमन्त्रीलाई धन्यवाद दिए । ‘बल्ल सरकार छ, राज्य छ भन्ने महसुस भयो, नत्र साँच्चिकै टुहुरो महसुस भएको थियो । हामीले निकै पीडा भोग्यौं, धेरैपटक बुढाबुढी रोएका छौं,’ कट्टेलले भने । अहिलेसम्म विभिन्न क्षेत्र र दाताबाट ३३ करोड संकलन भएकोमा ४६ करोड भन्दा बढी खर्च भइसकेकाले १३ करोड ऋण रहेको उनले जानकारी दिए । रकमको जोहो भए ६ महिनादेखि एक बर्षसम्ममा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तयार हुने धुर्मुसले बताए । ‘हाम्रो कुनै स्वार्थ छैन, जे गरेका हौं, राष्ट्रका लागि गरेका हौं । अन्तर्राष्ट्रियस्तरको सबै मापदण्ड पालना गरेर रंगशाला निर्माण गरिरहेका छौं । सहयोगी मनहरूको सदभावले अगाडि बढ्न धेरै ठूलो ऊर्जा लिइरहेको छ । त्यसैले कोरोनाको विषम परिस्थितिमा पनि काम रोकिएको छैन,’ कट्टेलले भने ।
ताजा अपडेट
-
२०२४ मा अस्ट्रेलियाको मुद्रास्फीति तीन प्रतिशतभन्दा कम हुने
-
ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’
-
जसपाले फिर्ता लियो सरकारलाई दिएको समर्थन
-
कर्णाली करिडोरको यातायात ‘सिण्डिकेट’ तोड्न माग
-
नेपाल बीमा प्राधिकरणको ५६औं वार्षिकोत्सवका अवसरमा प्रभातफेरी कार्यक्रम
प्रतिक्रिया