आयात प्रतिबन्धबीच पनि घट्यो विदेशी मुद्राका सञ्चिति

काठमाडौं । विदेशी मुद्रा सञ्चिति घटेको भन्दै सरकारले ३ सय अमेरिकी डलरभन्दा माथिका मोबाइल, कार, जिप, भ्यान, १५० सीसीमाथिका मोटरसाइकल तथा विदेशी तयारी मदिरा आयातमा प्रतिबन्ध लगाएको छ । सरकारले पटक–पटक म्याद थप्दै आयात प्रतिबन्धलाई मंसिर मसान्तसम्म कायम गरेको छ । वैशाख १४ देखि यी वस्तुको आयात प्रतिबन्ध रहिरहे पनि विदेशी मुद्रा सञ्चिति घट्ने क्रममा भने सुधार देखिएको छैन ।
दुई महिनामै २६ अर्ब ६४ करोड रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चिति घटेको नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय विवरणले देखाउँछ । गत असार मसान्तसम्म मुलुकसँग कुल १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको विदेशी विनिमय सञ्चिति भदौ मसान्तसम्म २.२ प्रतिशतले कमी आई ११ खर्ब ८९ अर्ब १६ करोड रुपैयाँ कायम भएको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २ प्रतिशत घटेको छ । असार मसान्तसम्म ९ अर्ब ५४ करोड डलर रहेको सञ्चिति भदौ मसान्तसम्म ९ अर्ब ३५ करोड कायम भएको छ । भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत छ । एक वर्षमा भने विदेशी मुद्रा सञ्चिति १ खर्ब १७ अर्ब रुपैयाँ बराबर घटिसकेको छ । ०७८ भदौ मसान्तसम्म १३ खर्ब ६ अर्ब रुपैयाँ बराबर थियो । ०७८ असारदेखि नै विदेशी मुद्रा सञ्चिति घट्दो छ । ०७८ असार मसान्तसम्म यस्तो सञ्चिति १३ खर्ब ९९ अर्ब रुपैयाँ बराबर थियो ।
साउन र भदौमा गत वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स भने करिब २० प्रतिशत बढेको छ । यी महिनामा कुल १ खर्ब ८७ अर्ब ४ करोड रेमिट्यान्स भित्रिएको छ । विदेश जाने नेपाली कामदारको संख्या बढेकाले रेमिट्यान्समा सुधार देखिएको राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख प्रकाशकुमार श्रेष्ठ बताउँछन् । ‘अमेरिकी डलरको मूल्य बढ्दा पनि रेमिट्यान्समा केही असर देखिएको हो । तर विदेश जाने कामदारको संख्या नै बढेकाले डलरमै पनि बढेको देखिन्छ,’ उनले भने । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ११.३ प्रतिशतले वृद्धि हुँदा नेपाली रुपैयाँमा भने १९.८ प्रतिशत बढेको तथ्यांक छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १६९.९ प्रतिशतले वृद्धि भई १ लाख ३ हजार ८९८ पुगेको छ । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७०.६ प्रतिशतले वृद्धि भई ३९ हजार १८९ पुगेको छ, जसले गर्दा डलरमै पनि रेमिट्यान्स बढेको छ ।
एकातिर महँगा वस्तुको आयात प्रतिबन्ध, अर्कोतिर रेमिट्यान्स बढ्दा पनि विदेशी मुद्रा सञ्चिति घट्नुले भने अर्थतन्त्र अझै अप्ठ्यारोमै रहेको संकेत गर्दछ । रेमिट्यान्स बढे पनि अन्य माध्यमबाट फेरि रकम बाहिरिँदा विदेशी मुद्राको सञ्चिति बढ्न नसकेको श्रेष्ठ बताउँछन् । ‘रेमिट्यान्स बढे पनि त्यो पैसा आयात, शिक्षा, ऋण लगायतको भुक्तानीमा बाहिरिएको हुन्छ,’ उनले भने, ‘आउनेभन्दा बाहिरिने रकम बढी हुँदा त्यसले शोधनान्तर घाटा पनि देखिएको छ । सञ्चिति पनि घटेको छ ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया