NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

सम्बन्धविच्छेद गरेकी श्रीमतीले गरिन् पूर्वपतिको काजकिरिया !

झापा । मेचीनगर नगरपालिका–७ की सीता खड्काले सम्बन्ध विच्छेद गरेका पतिको मृत्यु संस्कार (काजकिरिया) गरेर पति–पत्नीको सम्बन्ध कागजले टुटाउन नसक्ने सन्देश दिएकी छन् ।

उनका पति भानुभक्त बस्नेतको ४८ वर्षको अल्पायुमै वैदेशिक रोजगारीको क्रममा संयुक्त अरब इमिरेट्सको दुबईमा गत असोज ८ गते मृत्यु भएको थियो । गत असोज २९ गते बस्नेतको शव मेचीनगर–१४ दुहागढीस्थित साहिँला भाइको घरमा आइपुगेको थियो । सोही दिन कनकाई आर्यघाटमा उनको दाहसंस्कार भएको थियो ।

पूर्वपतिलाई अन्तिम श्रद्धाञ्जली दिन सात वर्षीय छोरा प्रतिश बस्नेत र १६ वर्षीया छोरी जेनिशा बस्नेतलाई साथमा लिएर खड्का आर्यघाटमा गइन् । त्यसपछि उनी छोराछोरीसँगै मेचीनगर–७ इट्टाँभट्टास्थित आफ्नै निवासमा १३ दिने काजकिरिया बारेर बसिन् । दुई दिनअघि १३ दिने काजकिरिया पूरा गरेकी खड्काले कागजी सम्बन्ध विच्छेदले पतिप्रतिको माया र श्रद्धा कहिल्यै नघटेको बताइन् । उनले आफू सम्बन्ध विच्छेदको पक्षमा कहिल्यै नरहेको तर पतिकै जोडबलमा सम्बन्ध विच्छेदको कागजमा सहीछाप गरिदिएको जानकारी दिइन् ।

एक वर्षअघि सम्बन्ध विच्छेद गरेपश्चात बस्नेतले दोस्रो विवाह गरे पनि दोस्री पत्नीले केही महिनामै छाडेर हिँडेकी थिइन् । “मदिराको कुलतमा लागेर उहाँले मलाई कुटपिट गर्नुहुन्थ्यो, तैपनि म कहिल्यै सम्बन्ध विच्छेदको पक्षमा थिइन”, खड्काले भनिन्, “कान्छीले पनि केही महिनामै छाडेर हिँडेपछि उहाँ मेरो माइती घरमा बारम्बार आइरहनुहुन्थ्यो । मैले उहाँलाई सुध्रिएर आउनुहोस्, सँगै बसौँला भन्ने गरेको थिएँ ।”

यसैबीच वैदेशिक रोजगारीका लागि बस्नेत दुबई जानुभयो । असोज ८ गते उहाँले आत्महत्या गरेको दुःखद् खबर आएको थियो । पूर्वपति बस्नेतको मृत्यु भएपछि खड्काले आफूले पालनपोषण गर्दै आएका छोराछोरीसँगै साइला देबरको घरमा बसेर काजकिरिया बार्ने सोच बनाए पनि देबर, देउरानी र नन्दहरूले दिएनन् ।

“झगडा हुने भएपछि आफन्तहरुको सल्लाहबमोजिम म, छोरा र छोरीले अलग्गै किरिया बार्ने काम ग¥यौँ, साइला देवरले अलग्गै बार्नुभयो”, खड्काले भनिन्, “अहिले डिभोर्स दे, भरे डिभोर्स दे भनेर हैरान पारेपछि मैले दिक्क भएर उहाँ (पूर्वपति)ले ल्याएको कागजमा सहीछाप गरेकी हुँ । मेरो मनभित्र श्रीमानप्रति पहिले जत्तिकै आस्था, श्रद्धा र माया थियो ।”

उनीहरुको छोरा प्रतिश कक्षा २ मा र छोरी जेनिशा कक्षा १० मा पढिरहेका छन् । सम्बन्ध विच्छेदपश्चात छोराछोरीको लालनपालन खड्का (आमा) ले नै गरिरहेकी छन् । पूर्वपतिको १३ दिने काजकिरिया हिन्दू धार्मिक विधि र परम्परा बमोजिम गर्नु भएकी खड्कालाई आफन्त र छरछिमेकीले धन्यवाद दिने गरेका छन् ।