NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

खुलामञ्चकाे निःशुल्क खाना अब थापाथलीमा

काठमाडौं । काठमाडौं महानगरपालिकाले ठाउँको व्यवस्थापन गरिदिएपछि खुलामञ्चमा सञ्चालन हुदै आएको निःशुल्क खाना खुवाउने अभियानलाई थापाथली स्थित प्रसूति गृह पछाडि सारिएको छ । खुलामञ्चमा खाना खुवाउँदा धुवाधुलो हुने र यसबाट कोभिड १९ संक्रमणको जोखिम मात्र नभएर अन्य रोगकोसमेत सम्भावना भएको भन्दै महानगरपालिकाले मंसिर २ गतेदेखि खुलामञ्चमा खाना खुवाउने अभियान बन्द गर्न निर्देशन दिएको थियो । तर मानिसहरु खाना खानका लागि लामबद्ध भएपछि हाम्रो टीम नेपालले मंगलबार खाना खुवाएको थियो । त्यसपछि भने महानगरपालिकाले वैकल्पिक ठाउँ दिएको छ । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको पछाडिपट्टी रहेको खुला ठाउँ उपलब्ध गराएपछि आजदेखि सोही ठाउँमा निःशुल्क खाना खुवाउन लागिएको हाम्रो टीम नेपालका अध्यक्ष विमल पन्तले बताए । नयाँ ठाउँमा शौचालय, खानेपानी, फोहोर फाल्ने ठाउँ लगायतका पूर्वाधार निर्माण महानगरपालिकाले गरिदिने सम्झौता भएको पनि अध्यक्ष पन्तले बताए । उनले काम नपाएर भोकै बस्नुपर्नेस्थिति आएमा प्रत्येक दिन बिहान ९ बजे थापाथलीस्थित व्यवस्था गरिएको ठाउँमा खाना खान आउनसमेत आग्रह गरे । काठमाडौं महानगरपालिकाले सार्वजनिक यातायात सुचारु भएको अवस्थामा सार्वजनिक स्थलहरुमा भीडभाड हुनेगरी खाना खुवाउँदा स्वास्थ्य मापदण्ड कार्यान्वयनमा जटिलता पैदा भएको भन्दै वैकल्पिक व्यवस्थाका लागि पहल गरिएको बताएको छ । महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपती सापकोटाले असाहय अशक्तलाई भोजन गराउने संघ संस्थाकै अनुमतिमा महानगरपालिकाको पहलमा नयाँ ठाउँको व्यवस्था गरिएको बताए । स्वास्थ्य जोखिम, संक्रमणको सम्भावना र सामाजिक प्रतिष्ठा तथा मानव अधिकारको संरक्षण गर्ने हेतुले सार्वजनिक स्थल, खुला क्षेत्रमा भोजन सेवा बन्द गरी वैकल्पिक स्थानमा भोजन गराउने नीति अनुसार नयाँ ठाउँको व्यवस्था गरिएको उनले बताए । निःशुल्क भोजन गराउने स्थानमा शौचालय, पानीसहितको संरचना निर्माण महानगरपालिकाले गरिदिने पनि सापकोटाले बताए । यसबाहेक काठमाडौं महानगरपालिकाले काम गर्न सक्नेका लागि हप्तामा दुई दिन कामदिने व्यवस्था गरेको पनि नगर प्रहरी प्रमुख सापकोटाले बताए । त्यसका लागि आफ्नो वडा कार्यालयमा सम्पर्क गर्न उहाँको आग्रह छ । काम गर्न सक्नेका लागि काम दिने र नसक्ने लाई निःशुल्क खाना खान खुवाउने नीति महानगरपालिकाले लिएको पनि सापकोटाले प्रष्ट्याए ।

ताजा अपडेट

नेपालवाच विशेष