तस्बिरमा बाला चतुर्दशी : पशुपतिनाथ मन्दिरमा शतबीज छर्नेको घुईंचो (फाेटाेफिचर)

काठमाडौं । बाला चतुर्दशीका दिन पशुपतिनाथ मन्दिरमा भक्तजनको घुईंचो लागेको छ । पशुपतिनाथ मन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात शनिवार भक्तजनले दिवंगत पितृका नाममा दीपदान र चतुर्दशीका दिन आइतवार बिहान शतबीज छरेका छन् । पशुपति क्षेत्र विकास कोषले कोरोना महामारीका कारण यस वर्ष मेला रोक्ने निर्णय गरेको थियो । मेला नलागेपछि भक्तजनले नजिकैको शिवालयमा दीपदान गरेका छन् । हरेक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशी दिन बेलुकी भक्तजनहरूले पशुपतिमा दिपदान गर्ने गरेका छन् । आफन्तजनको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै १०७ शिवलिंग, कैलाश, सूर्यघाट, आर्यघाट, गुह्ेश्वरी, पशुपति, मृगस्थली, विश्वरुप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ । शतबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि गणेशको मुर्तिलाई हल्लाउँदै ठूलो स्वरले उक्त मूर्तिमार्फत दिवंगत आत्माको लागि सन्देश पुर्याउन अनुरोध गरिन्छ । बागमती किनारको मृगस्थलीमा भगवान् शिव मृगरुप धारण गरेर विहार गरेको थाहा पाई त्यस शिवरुपी मृृगलाई चिन्न पार्वतीले विभिन्न किसिमको बीज छरेको र ती बीज उम्रेर हरियो भएपछि मृृगहरु आउँदा बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेकोे किम्बदन्ती छ । बालाचतुर्दशीसँग जोडिएको अर्को कथाअनुसार धेरै वर्षअघि पशुपतिकोे मुर्र्दाघाटमा बस्ने ‘बालानन्द’ नाम गरेका एकजना व्यक्ति खाजा खान लाग्दा पोेलिएको शवको टाउको फुटेर उछिट्टिएको गिदी उनको च्युरामा परेका थियो । सो गिदीसँगै च्युरा खाँदा झनै मीठो भएकाले उनी मुर्दाको गिदी खान पल्किए । त्यसपछि मानिसको गिदी खाने र लामो दाह्री, जुंगा र कपालले गर्दा मान्छे उनको छेउ पर्न डराएपछि उसलाई बालासुर राक्षस भन्न थाले । त्यसै बखत उसको राम्रो परिचय पाएका एकजना थकाली बुढाको सल्लाहअनुसार स्थानीयले बालासुरको मीत वृषसिंहमार्फत उनलाई मार्न लगाए ।आफ्ना मीतको हत्याबाट छटपटाएका वृषसिंहलाई एक रात सपनामा भगवान् शिवले शतबीज छर्ने आज्ञा दिएका थिए । मार्गकृष्ण चतुर्थीका दिन श्लेषमान्तक वनको वरिपरि शतबीज छर्दा बालासुर वैतरणी तरेर गएकाले त्यसै बेलादेखि यस दिनलाई बालाचतुर्दशी भनी दिवंगत आत्माकोे शान्तिका लागि शतबीज छर्ने गरिएको हो ।
प्रतिक्रिया