नौ महिनादेखि बन्द पशुपतिनाथ मन्दिर पर्सिदेखि खुल्ने

काठमाडौं । आगामी पुस १ गतेदेखि पशुपतिनाथ मन्दिरमा प्रवेश खुला गरिने भएको छ । स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गते बुधबारदेखि मन्दिर खोल्न लागिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए । ‘महामारीको संकटकाबीच विभिन्न विषयमा बाँधिएर काम गर्न बाध्य भयौँ, बुधबारदेखि मन्दिर खुलेपछि स्वास्थ्य सुरक्षाको विधि अपनाएर बन्द रहेको विशेष पूजा, भजनलगायत गतिविधि पनि क्रमशः सञ्चालनमा ल्याउने छौँ,’ उनले भने । पहिलो चरणमा पुस १ गतेदेखि मन्दिरको पश्चिम ढोकाबाट भक्तजन प्रवेश गराई दर्शन गराएर सोही ढोकाबाट नै बाहिर निस्कने व्यवस्था गरिएको छ । मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने छ । मन्दिर बुधबारदेखि खुलेपनि मन्दिरभित्र हुने विशेष पूजा, भजनलगायत क्रियाकलाप भने तत्काल सुरु हुनेछैन । नौ महिनासम्म भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द गर्नुपर्दा क्षमा माग्न मंगलवार विहान क्षमा पूजा गर्न लागिएको कोषले जनाएको छ । प्राचीनकालदेखि नियमित रुपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्द गर्न बाध्य भएपछि क्षमा माग्न पूजा गर्न लागिएको हो । नौ महिनादेखि मन्दिर बन्द हुँदा दर्शन गर्न नपाएको भन्दै विश्व हिन्दू महासंघको नेतृत्वमा विभिन्न धार्मिक संस्थाले पशुपति क्षेत्रमा सांकेतिक रुपमा बिरोध प्रदर्शन गर्दै आएका थिए । मन्दिर खोल्नुपर्ने माग गर्दै आएका संस्थाले पनि मंगलबार पशुपति प्रांगणमा विशेष पूजा आराधना गर्ने तयारी गरेका छन् । लामो समयपछि मन्दिर खोल्न लागिएको र कोरोनाको त्रास कायमै रहेकाले पशुपति क्षेत्रमा विशेष सुरक्षा सतर्कता अपनाउन लागिएको पनि कोषले जनाएको छ । यसका लागि सबै सुरक्षा निकायलाई राखेर बैठक गरिएको कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले जानकारी दिए । चैतदेखि नै पशुपति क्षेत्रमा धार्मिक पर्यटक समेत आएका छैनन् । मन्दिर नखुल्दा फूल–प्रसाद बेच्न राखिएका पसलपनि नौ महिनादेखि बन्द छ जसबाट कोषलाई करिब ७० करोड घाटा लागेको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए । नौ महिनासम्म पनि पशुपति क्षेत्रमा नित्य पूजा, आरती, भोग एवं घाट सेवाका काम भने पूर्ववत् सञ्चालन भएको थियो । महामारी लगायत कारण यति लामो समय पशुपतिनाथ मन्दिर बन्द रहेको इतिहास वंशावली लगायत ग्रन्थमा नपाइएको पशुपति क्षेत्रकै विषयमा विद्यावारिधि शोध गर्नुभएका कोषका पूर्व सदस्य सचिव डा गोविन्द टण्डनले बताए ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया