अध्यादेश फिर्ता गराउन निर्देशन दिने तयारीमा प्रचण्ड–नेपाल, बचाउमा ओलीपक्ष

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पार्टी र सरकारमा रहेका मन्त्रीसमेतलाई जानकारी नै नगराइ एकाएक अध्यादेश जारी गरेपछि नेकपा तरंगित छ । यसले पार्टीभित्र झांगिदै गएको असमझदारीलाई चुलीमा पुर्याएको छ । पार्टी नै विभाजनको डिलमा उभिएका बेला प्रधानमन्त्रीले एकाएक ल्याएको अध्यादेशले मिलनभन्दा विच्छेदलाई प्रोत्साहन गरेको नेकपाकै नेताहरू बताउँछन् । अबको केही समयभित्रै नेकपाको स्थायी समिति बैठक बस्दैछ । बैठकमा संवैधानिक परिषद्सम्वन्धि जारी अध्यादेशका विषयमा चर्को बहस हुने भएको छ । बैठकमा पार्टी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूह अध्यादेश फिर्ता गराउने निर्देशन दिने तयारीमा छ । उक्त पक्षसँग स्थायी समितिमा बहुमत सदस्य छन् । सरकारले १३ मध्ये ११ संवैधानिक अंगहरूमा रिक्त पदपूर्ति गर्न समस्या परेको भन्दै अध्यादेश ल्याएको थियो । यसै विषयलाई लिएर नेकपा भित्र र इतर पार्टीमा चर्को विरोध पनि भइरहेको छ । नेकपाभित्रको मध्यामार्गी धारको नेताका रुपमा चिनिएका स्थायी समिति सदस्य हरिवोल गजुरेल पार्टी मिल्ने भन्दा पनि फुट्ने दिशातर्फ अग्रसर भइरहेको बताउँछन् । अध्यादेश पार्टी र सरकारमै पर्याप्त छलफलै नगरी ल्याइएकाले आजको स्थायी समिति बैठकमा यसबारे कडा रुपमा प्रस्तुत हुने बताए । ‘प्रधानमन्त्रीले पार्टी फुटलाई थप मलजल गर्नेगरी एकाएक विवादास्पद अध्यादेश ल्याउनुभयो, उहाँले पार्टीमा र सरकारमै पर्याप्त छलफल गरेको पनि देखिएन,’ नेता गजुरेलले भने, ‘आजको बैठकमा यसबारे बहस र छलफल हुन्छ ।’ आफूहरूको प्रयास अझै पनि पार्टी एकतालाई जोगाउनमै केन्द्रित रहेको उनले बताए । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठमात्रै होइन ओली इतरकाका बहुमत स्थायी समिति सदस्यहरूले पनि अध्यादेशको विरोध गरेका छन् । वरिष्ठ नेता खनालले अध्यादेशपछिको उत्पन्न राजनितिक संकटको जिम्मेवारी प्रधानमन्त्री ओली आफैंले लिनुपर्ने बताए । ‘हामी यो विषयलाई स्थायी समितिमा सशक्त रुपमा उठाउँछौँ, सरकारको मनोमानी रोक्न पार्टीले आवश्यक निर्देशन दिन्छ ।’ उनले भने । ओली पक्षीय नेता अध्यादेशको बचाउमा ओली पक्षीय नेताहरू भने अध्यादेशको बचाउमा उत्रेका छन् । आजको स्थायी समिति बैठकमा यसबारे बचाउ गर्ने तयारीमा उनीहरू छन् । ओली पक्षीय स्थायी समिति सदस्य सत्यनारायण मण्डलले अध्यादेश ल्याउने कदम ठीक भएको बताए । ‘सरकारले कामै गरेन कामै गरेन भनेर विरोध पनि गर्ने अनि काम गर्दा अवरोध पनि गर्ने यो त राम्रो भएन नि !’ उनले भने । कहिले विपक्षी दलको नेता बैठकमा नआउने कहिले सभामुख नआउने गरेर संवैधानिक परिषद्लाई जहिल्यै अनिर्णयको बन्दी बनाइएको उनले बताए । सभामुख पनि पार्टीको नेताजस्तो भएर बैठकमा अनुपस्थित भएको भन्दै त्यसप्रति उनले रोष प्रकट गरे । उनले पार्टीभित्र हुने विरोधले कुनै असर नगर्ने पनि बताए । नेता मण्डलले भने, ‘पार्टीभित्र नै विपक्षी दलहरूले भन्दा बढी विरोध भइरहेको छ, तर, यसले कुनै असर गर्दैन ।’
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया