NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

बौरिँदै सौराहाको पर्यटन, आन्तरिक पर्यटकको चहलपहल बढ्यो

काठमाडौं । कोरोना महामारीका कारण झण्डै वर्ष दिनदेखि थलिएको सौराहाको पर्यटन बौरिन थालेको छ । बाह्य पर्यटकको आगमन शून्य भए पनि आन्तरिक पर्यटकको चहलपहलका कारण सौराहाको पर्यटन चलायमान हुन थालेको हो । होटल, सफारी लगायतमा छुटका विभिन्न प्याकेज दिएर भए पनि व्यवसायीले पर्यटक आकर्षण गर्ने प्रयास गरेका छन् । शुक्रबार र शनिबारको दिन सौराहामा आन्तरिक पर्यटकको राम्रै चहलपहल देखिन्छ । तिहारपछि आन्तरिक पर्यटकको आगमनले राहत र हौसला मिलेको व्यवसायी बताउँछन् । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराई पछिल्लो समय सौराहालाई आन्तरिक पर्यटकको आगमनले चलायमान बनाउन थालेको बताउँछन् । ‘पछिल्लो समय आन्तरिक पर्यटकका कारण सौराहाले लय समात्न खोजेको छ, खर्च धान्ने अवस्था बन्न थालेको छ,’ उनले भने । सफारीमा छुट सौराहामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न हात्ती सफारीको अवधि थप गरिएको छ । कोरोनाका कारण भएको बन्दाबन्दीले थला परेको सौराहाको पर्यटनलाई उठाउन व्यवसायीले पर्यटकलाई थप समय घुमाउने निर्णय गरेका हुन् । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेडका अध्यक्ष ऋषि तिवारीले पर्यटक आकर्षित गर्न संघले विभिन्न प्याकेजको व्यवस्था गरिएको बताए । एक घण्टाको प्याकेजमा हात्ती सफारी गर्नेका लागि डेढदेखि दुई घण्टासम्म घुमाउने गरेको उनले बताए । उनले भने, ‘चार जना भएपछि मात्रै सफारीमा लैजाने गरिन्थ्यो, तर अहिले दुई जना भए पनि जाने गरिएको छ ।’ उनले नाफाभन्दा पनि व्यवसाय धान्ने र पर्यटकलाई आकर्षित गर्ने योजनाका साथ काम गरिरहेको बताए । सफारीका लागि चितवन राष्ट्रिय निकुञ्ज प्रख्यात छ । सफारीका लागि यहाँ ठूलो संख्यामा स्वदेशी र विदेशी पर्यटक आउने गरेका छन् । जंगल, हात्ती, उँट, जिप, डुंगा, उँट लगायतका सफारीका साथै एकसिङ्गे गैँडा, बाघ, घडियाल गोहीजस्ता जनावर, चराचुरुङ्गीको अवलोकन गर्न यहाँ पर्यटक आउने गर्दछन् । होटल–रेष्टुरेन्टमा पनि छुटका प्याकेज अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्याहमा यतिबेला सौराहाका होटल पर्यटकले खचाखच भरिन्थे । व्यवसायीलाई पर्यटकको स्वागतदेखि निकुञ्ज घुमाउन भ्याइनभ्याइ हुन्थ्यो । क्षेत्रीय होटल संघ चितवनका पूर्वअध्यक्ष सुमन घिमिरे सौराहामा होटलको अकुपेन्सी १० देखि १५ प्रतिशतमात्रै भएको बताउँछन् । ठूला भन्दा पनि साना तथा मझौला होटलमा पर्यटकको चहलपहल बढी भएको उनको भनाइ छ । पर्यटक आगमन न्यून भएपछि व्यावसायीहरूले होटल तथा रेष्टुराँ प्याकेज अन्तर्गत २० देखि ३० प्रतिशतसम्म छुट दिएका छन् । संघका पूर्व अध्यक्ष घिमिरे पर्यटकका लागि अन्य प्याकेज ल्याउनेबारे पनि तयारी भइरहेको बताउँछन् । रेष्टुराँ एण्ड बार एशोसिएशन नेपाल सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडा अन्तर जिल्लाका पर्यटकको आवागमन रहेको र करिब ३० प्रतिशत पर्यटक रेष्टुराँमा आउन थालेको बताउँछन् । आन्तरिक पर्यटक बढ्न थालेपछि केही आशावादी बनेको उनले बताए । उनले एशोसिएशनको तर्फबाट १५ प्रतिशतसम्म छुट दिइएको पनि बताए । निकुञ्जले हात्ती, जिप र डुंगा सफारीबापत लिँदै आएको राजस्वमा छुट र नयाँ रुट खोलिदिनुपर्ने उनको माग छ । सौराहामा ठूला साना एक सय ४० होटल र करिब ५० रेष्टुराँ सञ्चालनमा छन् । पर्यटक प्रवद्र्धनका लागि देश दौडाहामा जाँदै व्यवसायी आन्तरिक पर्यटक आकर्षित गर्न क्षेत्रीय होटल संघ चितवन देश दौडाहामा जाने भएको छ । जनकपुर, विरगञ्ज, विराटनगर लगायतका सातवटा मुख्य शहरमा ‘घुमौं चितवन’ को नारा सहित प्रचार गर्न हिँड्ने संघका अध्यक्ष दीपक भट्टराइले बताए । कोरोना महामारीका कारण लामो समयदेखि थला परेको पर्यटन क्षेत्रलाई जगाउनका लागि यो अभियान सुरु गर्न लागेको अध्यक्ष भट्टराइले बताए । ‘आउँदो अंग्रेजी नयाँ वर्ष अघि नै फर्किनेगरी देश दौडाहामा जान लागेका हौं,’ उनले भने ।