NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

घुस सहित समातिएका चार मालपोत कर्मचारी र एक सव इञ्जिनियर विरुद्ध मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङका प्रमुख मालपोत अधिकृत नरेश कुमार खड्कासहित ४ जना र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तरगतकी असिष्टेन्ट सव-इन्जिनियर भगवती राउत गुरुङ विरुद्ध बिशेष अदालतमा मुद्धा दायर गरेको छ । अख्तियारले दाङका प्रमुख मालपोत अधिकृत खड्कासहित ४ जना विरु जनही तीन लाख २० का दरले विगोदावी सहित मुद्धा दायर गरेको हो । उनीहरुमा प्रमुख मालपोत अधिकृत नरेश कुमार खड्का, मुद्दा फाँटका ना.सु. केशवराज अधिकारी, मोठफाँटका ना.सु. पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरे छन् । उनीहरुले मिलेमतो गरी सुकुम्बासीको हैसियतले प्राप्त गरेको जग्गाको श्रेस्ता कायम गरी जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराउने कामका लागि घुस लिएका हुन् । अख्तियारले उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिम मुद्धा दर्ता गरेको हो । यस्तै राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई, स्याङजाअन्तर्गत भीरकोट नगरपालिकाकी भुकम्प शाखाकी असिष्टेन्ट सव-इन्जिनियर भगवती राउत गुरुङ विरुद्ध पनि भ्रष्टाचार मुद्धा दर्ता गरेको छ । गुरुङ घर निर्माणमा रकम निकासा गरिदिन तथा गरिदिएवापत पाँच हजार घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ परेकी थिइन । उनले घुस लिएको प्रमाणित भएको भन्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिम ५ हजार विगो दावी सहित मुद्धा दायर गरेको हो ।

ताजा अपडेट

नेपालवाच विशेष