NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

ठूला जहाज अवतरण गराउनेगरी सुर्खेत विमानस्थलको स्तरोन्नती हुने

काठमाडौं । सुर्खेतको बीरेन्द्रनगरमा रहेको विमानस्थलको स्तरोन्नती तथा क्षमता विस्तार हुने भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुुर शाहीको अध्यक्षतामा आज बसेको बैठकले सुर्खेत विमानस्थलको स्तरोन्नती गर्ने निर्णय गरेको हो । कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेत विमानस्थल साँघुरो भएका कारण ठूला जहाज अवतरण गर्न सक्दैनन् । उक्त विमानस्थलको स्तरोन्नतीका लागि प्रदेश सरकारले लामो समयदेखि पहल गर्दै आएको थियो । हाल उक्त विमानस्थलमा एटिआर–४२ सम्मका जहाज अवतरण हुन सक्छन् । मन्त्रालयका प्रवक्ता केशवप्रसाद उपाध्यायका अनुसार ठूला जहाज जान नसक्दा सर्वसाधारणले महंगो भाडा तिर्दै आएका छन् । अब भने एटिआर–७२ जहाज बस्न सक्ने क्षमतामा विमानस्थलको स्तरोन्नती हुने उपाध्यायले बताए । ‘एप्रोच लाइट’ को व्यवस्था नहुँदा उक्त विमानस्थलमा अझै पनि रात्रीकालिन सुविधा छैन ।मुख्यमन्त्रीको सचिवालयले सुर्खेत विमानस्थललाई अब एप्रोच लाइट सुविधा सहितको विमानस्थलका रुपमा विकास गर्ने जनाएको छ । हाल एक हजार पाँच सय ५५ मिटरको धावनमार्ग र रात्रीकालिन उडान पनि गर्न सक्नेगरी विमानस्थलको विस्तार तथा विकास गर्ने सचिवालयले जनाएको छ । विमानस्थल विस्तारका लागि प्रस्तावित जग्गा अधिग्रहण क्षेत्रको जग्गा कित्ता विवरण तयार गरी रोक्काको प्रक्रिया अघि बढाउने सचिवालयले जनाएको छ । विमानस्थलको विस्तार हुने क्षेत्रमा हाल विद्यालय, घर तथा खेतीयोग्य जमिन छन् । यसको व्यवस्थापनको निर्णय जिल्ला प्रशासन कार्यालयले लिनेछ । जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाउन प्रमुख जिल्ला अधिकारीले तीन दिनभित्र मूल्यांकन समितिको बैठक आह्वान गरी काम अघि बढाउनेछन् । संघीय सरकारसँगको समन्वयनमा हुन लागेको विमानस्थल विस्तारका लागि मुआब्जा वितरणमा लाग्ने कुल लागतको ५० प्रतिशत रकम प्रदेश सरकार आफैंले व्यहोर्र्ने सहमति भएको छ । त्यसमध्ये ५ प्रतिशत लागत वीरेन्द्रनगर नगरपालिकाले व्यहोर्ने निर्णय भएको सचिवालयले जनाएको छ । विमानस्थल विस्तार तथा स्तरोन्नती गर्ने क्रममा हुने सम्भावित समस्या सामाधान गर्न कर्णाली प्रदेश सरकारले सर्वदलीय एवं सर्वपक्षीय समिति गठन गर्नेछ । विमानस्थल स्तरोन्नती तथा विस्तारका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक वर्ष अघि उच्चस्तरीय प्राविधिक टोलीलाई सुर्खेत पठाएको थियो । हाल सुर्खेत विमानस्थलमा बुद्ध एयरले एटिआर–४२ जहाजमार्फत नियमित उडान गर्दै आएको छ । मागअनुसार तारा एयर, समिट एयर र सिता एयरले पनि उडान गर्छन् ।

ताजा अपडेट

नेपालवाच विशेष