NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

आजका ‘गुड न्युज’ : भोलिबाट जोर–बिजोर प्रणाली खारेज हुने

काठमाडौं । आज दिनभर सञ्चारमाध्यमबाट अनेकौं खबरहरू संप्रसित भए । त्यसमा नकारात्मक भाव बोकेका खबरहरूको बर्चस्व थियो । विकृत राजनीति, अपराध, दुर्घटना लगायतका खबरहरूले सञ्चारमाध्यमहरूको अधिकांश स्थान ओगटे । नकारात्मक खबरको बाढीका बीच केही सकारात्मक सन्देशहरू पनि प्रवाहित भएका छन् । नेपालवाचले आज दिनभर प्रकाशित यस्तै सकारात्मक खबरहरूको संक्षिप्त सूची तयार गरेको छ । आजका ‘गुड न्यूज’ : – भोलिबाट जोर–बिजोर प्रणाली लागू नहुने शुक्रबारबाट काठमाडौं उपत्यकामा सबै सार्वजनिक तथा निजी सवारी साधन सडकमा गुड्न पाउनेछन् । लामो समयसम्म जोर–बिजोर प्रणाली कायम गर्न कठिन भएको र झनै भीड बढेको भन्दै प्रतिबन्ध खुलाइएको हो । बिहीवार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको सरोकारवाला निकाय र विभिन्न यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधिको बैठकपछि यस्तो निर्णय आएको हो । – रात्रीकालिन सुविधा दिनेगरि सुर्खेत विमानस्थलको स्तरोन्नती हुने सुर्खेतको बीरेन्द्रनगरमा रहेको विमानस्थलको स्तरोन्नती तथा क्षमता विस्तार हुने भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुुर शाहीको अध्यक्षतामा आज बसेको बैठकले सुर्खेत विमानस्थलको स्तरोन्नती गर्ने निर्णय गरेको हो । कर्णली प्रदेशको राजधानीसमेत रहेको सुर्खेत विमानस्थल साँघुरो भएका कारण ठूला जहाज अवतरण गर्न सक्दैनन् । हाल उक्त विमानस्थलमा एटिआर–४२ सम्मका जहाज अवतरण हुन सक्छन् । मुख्यमन्त्रीको सचिवालयले सुर्खेत विमानस्थललाई अब ‘एप्रोच लाइट’ सुविधा सहितको विमानस्थलका रुपमा विकास गर्ने जनाएको छ । हाललाई १५ सय ५५ मिटरको धावनमार्ग र रात्रीकालिन उडान पनि गर्न सकिने गरी विमानस्थलको विस्तार तथा विकास गर्ने सचिवालयले जनाएको हो । – सात दिनभित्र उखु किसानको बक्यौता उपलब्ध गराउन निर्देशन संघीय संसदको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता समितिले उखु किसानको बक्यौता साता दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ । बिहीबार सिंहदरबारमा बसेको बैठकले सातादिन भित्रमा उखु किसानको सबै भुक्तानी गराउने व्यवस्था गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो । उद्योगलाई बेचेको उखुको पैसा भुक्तानी नपाएको भन्दै उनीहरू पाँच दिनदेखि राजधानीमा आन्दोलनरत छन् । – नौ महिनापछि भारत उड्यो निगमको जहाजकोरोना महामारीको कारण विगत ८ महिना देखि बन्द भएको भारत उडान आजबाट सुचारु भएको छ । ‘एयर बबल्स’ अवधारणामार्फत आज बिहीबारबाट काठमाडौं–दिल्ली उडान भएको हो । पहिलो उडानमा ९० प्रतिशतको अकुपेन्सीसहित निगमको ए ३२० जहाज दिल्ली उडेको छ । – विराटनगरका विद्यालय आजदेखि सञ्चालनमा कोरोना महामारीका कारण विगत नौ महिनादेखि बन्द रहेका विराटनगर महानगरपालिकाका विद्यालय आजदेखि सञ्चालनमा आएका छन् । विराटनगर महानगरपालिकाले गत मङसिर २१ गते गरेको निर्णयअनुसार विद्यालय सञ्चालनमा आएका हुन् । महानगरले संक्रमणको जोखिम, विद्यार्थी संख्या तथा उपलब्ध भौतिक पूर्वाधारअनुसार विद्यालय सञ्चालन गर्न सात बुँदे विकल्प दिएको थियो । कक्षा सञ्चालन गर्नेलगायत कार्यविधि र विद्यालय स्वास्थ्य सुरक्षा मापदण्डअनुसार सञ्चालन गर्नुपर्ने छ । मोरङमा रहेका १७ स्थानीय तहमध्ये विराटनगर बाहेकका अन्य स्थानमा भने विद्यालय सञ्चालन भइसकेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष