NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

माधव नेपालको अर्ती प्रचण्डले मानेपछि ओली पुगेका थिए खुमलटार

काठमाडौं । सत्तारूढ नेकपाभित्र शक्ति संघर्ष चर्किरहेका बेला प्रधानमन्त्री केपी ओली अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्न खुमलटार पुगे । ओलीले पार्टीभित्र र सरकारकै मन्त्रीसमेतलाई थाहै नदिइ संवैधानिक परिषद्सम्बन्धि अध्यादेश ल्याएपछि विवाद झन्झन् आकासिँदै गएको थियो । तर आफ्नो अडानबाट टसमस नभएका ओली प्रचण्ड निवास नै जानुलाई धेरैले अर्थपूर्ण रुपमा लिएका छन् । ओली प्रधानमन्त्री भएदेखि प्रचण्ड निवास गएका थिएनन् बरु पार्टीभित्र आन्तिरिक विवाद चर्किरहेका बेला उपाध्यक्ष वामदेव गौतमलाई आफ्नो पक्षमा पार्नका लागि उनकै निवास पुगेका थिए । शनिबार विहान अध्यक्ष प्रचण्ड भेट्न प्रधानमन्त्री ओली दलबलसहित उनकै निवास पुगे । छलफलमा उपाध्यक्ष गौतमसमेत मिसिन पुगेका थिए । दुवै अध्यक्ष र उपाध्यक्षसहितको छलफलमा भने वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाललगायतका नेताहरु भने थिएनन् । अध्यक्ष प्रचण्डलाई भेट्न पुगेका प्रधानमन्त्री ओली करिब डेढ घण्टापछि खुमलटारबाट निस्किए । उनले वरिष्ठ नेता नेपाललाई भने भेटेनन् । तर थोरै समय खुमलटारमा प्रचण्ड, नेपाल र गौतमबीच सामान्य कुराकानी भने भयो । त्यसपछि गौतम पनि खुमलटारबाट बाहिरिए । प्रचण्ड र नेपाल भने थप छलफलमा जुटे । अध्यादेशले निम्त्याएको संकट जिवितै सरकारले गत मंगलबार ल्याएको संवैधानिक परिषद्सम्वन्धि अध्यादेशको किचलो नेकपाभित्र अझै साम्य भएको छैन । सरकारले एकाएक ल्याएको अध्यादेश फिर्ता हुनुपर्ने भन्दै पार्टीको स्थायी समितिको बैठकले निर्णय नै गरेको थियो । ओली पनि अध्यादेश फिर्ता लिन राजी भएका थिए । तर उनले अध्यादेश फिर्ता नलिइ जारी अध्यादेशअनुसार नै परिषद् बैठक बोलाएपछि नेकपा एकीकृत नै रहनेभन्दा पनि विभाजित हुने हदसम्म पुगेको थियो । सो बैठक तुरुन्तै रोक्नुपर्ने भन्दै प्रचण्ड गत बिहीबार बालुवाटार पुगेका थिए । प्रचण्डको चेतावनीपछि प्रधानमन्त्री ओलीले बैठक पनि रोकेका थिए । तर प्रधानमन्त्री ओलीले स्थायी समितिको निर्णय अनुसार अध्यादेश फिर्ता नलिएपछि नेकपाभित्रको किचलो साम्य भएकै छैन । बरु शुक्रबार प्रचण्ड र नेपाल पक्षीय नेताहरुले प्रदेश १ स्तरीय अगुवा नेताहरुको पेरिसडाँडामा भेला नै राखे । सो भेलामा बोल्दै प्रचण्डले ओली नसच्चिएको र अध्यादेश फिर्ता नलिए कडा एक्सनमा जाने बताएका थिए । आजको खुमलटारमै भेटमा पनि प्रचण्डले ओलीसँग अध्यादेश फिर्ता नलिएकोबारे चासो राखेका थिए । खुमलटारस्रोत भन्छ –प्रचण्डले आज पनि अध्यादेश किन फिर्ता नलिएको भनेर प्रधानमन्त्रीलाई प्रश्न गर्नुभएको थियो । प्रधानमन्त्रीले राष्ट्रपतिसँग थप छलफल र परामर्श गरेपछि फिर्ता लिन्छु भन्नुभएछ ।’ दुई अध्यक्षबीच सहमति भएन प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डसँग स्थायी समितिको बैठकमा बुझाएको प्रतिवेदन फिर्ता लिन आग्रह गरेका थिए । तर प्रचण्डले पार्टी कमिटिले निर्णय गर्ने बताएका थिए । उनीहरुबीच बाहिर चर्चा गरिएजस्तो भने कुनै ठोस सहमति भने भएको छैन । खुमलटार स्रोतले भन्यो,‘प्रधानमन्त्री ओलीले प्रस्ताव फिर्ता लिनुस् र सहमतिमा नयाँ प्रस्ताव बनाउ भन्नुभएछ तर प्रचण्डले पार्टी बैठकमा छलफल भइरहेको प्रस्तावको टुंगो पार्टीले नै लगाउँछ भन्नुभएछ ।’ दुवै अध्यक्षबीच यी विषयमा कुनै सहमति हुन नसकेपछि उपाध्यक्ष गौतमलाई सहजीकरणका लागि बोलाएका थिए तर ओली, प्रचण्ड र गौतमबीचको त्रिपक्षीय छलफलमा पनि कुरा नमिलेपछि प्रधानमन्त्री ओली खुमलटारबाट बाहिरिएका थिए । उनी खुमलटारबाट बाहिरिएपछि गृहमन्त्री रामबहादुर थापा बादल भेट्न उनकै निवास पुल्चोक पुगेका थिए । नेकपाको स्थायी समितिको बैठक भने आइतबार बस्दैछ । ओली किन पुगे खुमलटार ? शुक्रबार पनि प्रचण्ड आफ्नो निवास खुमलटारबाट प्रधानमन्त्री निवास बालुवाटार ओली भेट्न गएका थिए । तर ओलीलाई भेट्नुअघि प्रचण्डले नेपाललाई फोन गरेका थिए । नेता नेपालले सधै तारिख धाउन बालुवाटार नजान सुझाएका थिए । तर प्रचण्ड बालुवाटार गएका थिए । नेपाल निकट स्रोतले भन्यो,‘हिजो बालुवाटार जानुअघि प्रचण्डले माधव नेपाललाई फोन गर्नुभएको थियो । उहाँले प्रचण्डलाई अर्ती दिँदै सधै बालुवाटारको तारिख धाउन नजानुस्, बरु ओलीलाई तपाईकै निवास बोलाउनुस् भन्नुभएको थियो । बालुवाटार पुगेर प्रचण्डले ओलीलाई अब आफू सधै बालुवाटार आउन नसक्ने तपाई नै मेरैतिर आउनुस् भन्नुभएको रहेछ । त्यही सर्त अनुसार नै प्रधानमन्त्री खुमलटार आउनुभएको हो ।’ यता प्रचण्ड सचिवालयले पनि यसअघि आज भएको दुई अध्यक्षको भेट अप्रत्यासित नभएको र हिजो नै टुंगो लागेको बताएको छ । प्रचण्ड सचिवालले भन्यो– ‘यसअघि बालुवाटारमा दुवै अध्यक्षबीच जेजस्ता विषयमा छलफल भइरहन्थ्यो त्यहीँ छलफलकै निरन्तरता हो । अन्य कुनै छलफल भएको छैन । दुवै अध्यक्षले नै उपाध्यक्ष वामदेव गौतमलाई बोलाएर आउनुभएको हो ।’

ताजा अपडेट

नेपालवाच विशेष