‘माउन्टेन फ्लाइट’मा बढ्यो आकर्षण, एकैदिन आठ उडान

काठमाडौं । सर्वोच्च शिखर सगरमाथासहितका हिमालको मनोरम दृश्वावलोकन गर्न पाउने भएपछि मुलुकको पर्वतीय उडानमा यात्रुको आकर्षण बढेको छ । कोभिड–१९ सङ्क्रमणकै बीच गत मङ्सिर २० देखि सञ्चालनमा आएको पर्वतीय उडान उत्साहवद्र्धक भइरहेको एयरलाइन्सले जनाएका छन् । बन्दाबन्दीको झण्डै नौ महिनापछि खुलेको पर्वतीय उडानमा आन्तरिक पर्यटकको आकर्षण बढेको छ । कोभिडअघि प्रायः विदेशीका लागि मात्र हुने पर्वतीय उडानमा नेपालीहरु हिमाल अवलोकन गर्न औधि रुचाएका छन् । नेपाली यात्रुलाई लक्षित गर्दै एयरलाइन्सले छुटसहितका अफर ल्याएपछि यो उडानमा झनै यात्रु ओइरिएका छन् । दुवै कम्पनीले एक टिकट खरिदमा अर्को सित्तैमा उपलब्ध गराएका हुन् । निजी वायुसेवा कम्पनी बुद्ध र यती एयरलाइन्सले हरेक शनिबार पर्वतीय उडान गर्दै आएका छन् । शनिबार एकै दिन आठ पर्वतीय उडान भएका छन् । बुद्ध एयरका पाँच र यती एयरका तीन उडान भएका हुन् । यतीको सिमराबाट पनि पर्वतीय उडान तय गरेको भए पनि मौसम खराबीका कारण उडान रद्द भएको कम्पनीले जनाएको छ । राजधानी काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ७ बजे पर्वतीय उडान हुने गरेको छ । गत शनिबार दुवै कम्पनीका उडान रद्द भएकाले पनि आज एकै दिन धेरै उडान भएका हुन् । गत शनिबार बुद्धका चार र यतीका ९सिमरासहित० चार उडानमध्ये यतीले एक मात्र उडान गरेको थियो । आज बुद्ध एयरले पाँच उडानमार्फत ३०० यात्रुलाई सगरमाथा अवलोकन गराएको जनाएको छ । यात्रुको उत्साहवद्र्धक माग बढेकाले अन्य दिन पनि पर्वतीय उडान गर्ने बुद्ध एयरको योजना छ । यतीको सातामा दुई दिन पर्वतीय उडान यती एयरलाइन्सले यात्रुको मागलाई मध्यनजर गर्दै सातामा दुई दिन पर्वतीय उडान गर्ने भएको छ । हाल शनिबार मात्र पर्वतीय उडान गर्दै आएको यतीले हरेक आइतबार पनि उडान गर्ने भएको हो । भोलि आइतबारका लागि दुई उडान निर्धारण गरिएको कम्पनीले जनाएको छ । यती एयरलाइन्सका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले यात्रुको मागबमोजिम हरेक शनिबार र आइतबार पर्वतीय उडान गरिने जानकारी दिए । उनका अनुसार यतीले काठमाडौँबाट सातामा दुई दिन र सिमरा आधार भएर हरेक शनिबार एक दिन उडान गर्नेछ ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया