संसद विघटनबाट कांग्रेस दुःखी की खुशी ? कांग्रेसको मत चार बुँदामा

काठमाडौं । विघटित संसदको प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद विघटनलाई घोर सर्वसत्तावादी र संवैधानिक व्यवस्थाको प्रतिकूल भएको टिप्पणी गरेको छ । पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले सरकारको यो कदमलाई गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरतातिर लाने षडयन्त्र पनि भनेको छ । दुई तिहाई मत प्राप्त गरे पनि आन्तरिक झगडामा रुमल्लिंदा जनपक्षीय काम नगरेको र जनमतको अपमान गरेको आरोप उसको छ । उत्पन्न असहज परिस्थ्तििमा नेपाली जनता सामु नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन व्यवस्था र संविधानको संरक्षण गर्दै मुलुकलाई सही मार्गमा डो¥याउन आफ्ना सबै प्रयत्न केन्द्रीत गर्ने प्रतिवद्धता कांग्रेसले जनाएको छ । सभापति शेरबहादुर देउवाको नेतृत्वमा संसदमा क्रियाशील अन्य राजनीतिक दलहरुसंग समन्वय र सल्लाह गरी लोकतान्त्रिक पद्धतिको संरक्षणका लागि कार्य गर्ने उसको घोषणा छ । विकसित घटनाक्रमपछि थप रणनीति तय गर्न कांग्रेसले आगामी मंगलबार केन्द्रीय समितिको बैठक बोलाएको छ । गत निर्वाचनमा तत्कालीन एमाले र माओवादी मिल्दा कांग्रेस प्रतिनिधिसभाको निर्वाचनमा धेरै नै कमजोर देखिएको थियो । १६५ प्रतिनिधिसभा क्षेत्रका प्रत्यक्ष निर्वाचनमा कांग्रेस २३ सिटमा सीमित हुन पुगेको थियो । कांग्रेसका प्रभावशाली नेताहरु निर्वाचनमा पराजित हुन पुगेका थिए । प्रतिस्पर्धी र दुई तिहाईको मत हाराहारी रहेको दलभित्रको विवाद उत्कर्षमा पुगेर अर्को निर्वाचन घोषणा हुनुलाई भने कांग्रेसले आन्तरिक रुपमा सकारात्मक रुपमा लिएको देखिन्छ । कांग्रेस बैठकका निर्णय पुस ५, २०७७ प्रेस विज्ञप्ति नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं पूर्व पदाधिकारीहरुको बैठक सभापतिश्री शेरबहादुर देउवाको निवासमा आज बस्यो । बैठकले निम्नानुसार निर्णय गरेको छ— नेपाल सरकार मन्त्री परिषद्ले आज हठात् प्रतिनिधि सभा विघटन गरी वैशाखमा मध्यावधि निर्वाचन गर्ने गरी गरेको निर्णय, प्रधानमन्त्री के.पी. शर्मा ओलीको सिफारिस र सम्माननीय राष्ट्रपतिबाट उक्त सिफारिस स्वीकृत भएको घटनामा हाम्रो ध्यान गम्भीर रुपले आकृष्ट भएको छ । (१) यो घटना नेपाल कम्युनिष्ट पार्टीको सरकारको घोर अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट उत्पन्न लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्था प्रतिकुल बदनियतपूर्ण निन्दनिय कार्य हो । सरकारले गरेको यो निर्णयले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षडयन्त्रमूलक काम गरेको छ । (२) विगतको निर्वाचनमा स्थिरता, शान्ति र संमृद्धिको नारा दिएर झन्डै दुई तिहाई जनमत प्राप्त गरेको वर्तमान सरकारले जनताबाट प्राप्त जनादेशको अपमान गरेको छ । कोभिड—१९ को माहामारीले जनता सर्वाधिक पिडामा रहेको अवस्थामा नेपाल कम्युनिष्ट पार्टीको सरकार जनताका जन–जिवीका र सुविधाका विषयबाट विमुख र निरपेक्ष हुदै, आफ्नो पद र शाक्तिका लागि सत्ता संघर्षमा केन्द्रीत रह्यो । पछिल्ला घटना क्रमले कम्युनिष्ट पार्टी र सरकार देश र जनताका हितमा सत्ता संचालन गर्न अक्षम र जनताप्रति गैर जिम्मेवार र अनुत्तरदायी रहेको प्रष्ट छ । प्रारम्भदेखि नै असफलतातर्फ उन्मुख सरकारको यो कदम संवैधानिक मूल्य र लोकतान्त्रिक मान्यता विपरित कार्यहरुको श्रखृलाको निरन्तरता हो । (३) नेपाली कांग्रेसको यो बैठक नेपाल कम्युनिष्ट पार्टी र सरकारका कारण उत्पन्न यो असहज परिस्थितिमा नेपाली जनता सामु नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन व्यवस्था र संविधानको संरक्षण गर्दै मुलुकलाई सही मार्गमा डो¥याउन आफ्ना सबै प्रयत्न केन्द्रीत गर्ने प्रतिवद्धता व्यक्त गर्दछ । (४) नेपाली कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा संसदमा क्रियाशील अन्य राजनीतिक दलहरुसंग समन्वय र सल्लाह गरी लोकतान्त्रिक पद्धतिको संरक्षणका लागि कार्य गर्नेछ । जय नेपाल !कृष्णप्रसाद पौडेलमुख्य सचिव
प्रतिक्रिया