प्रचण्डसँग आत्मसमर्पण गर्न नसक्दा संसद विघटन प्रधानमन्त्रीको बाध्यता

काठमाडौं । प्रधानमन्त्री केपी ओलीका विश्वासपात्र प्रदीप ज्ञवालीले चारैतर्फबाट घेराबन्दी भए पछि आत्मसमर्पणभन्दा संसद विघटनको बाटो रोज्नुपरेको बताएका छन् । कान्तिपुरलाई अन्तर्वार्ता दिंदै परराष्ट्र मन्त्रीसमेत रहेका ज्ञवालीले यस्तो बताएका हुन् । ‘प्रचण्ड आफैं एक नम्बरमा प्रस्तावक बनेर अविश्वासको प्रस्ताव दर्ता गर्ने उहाँको तयारी भइसकेपछि प्रधानमन्त्रीले कि त उहाँहरूका सारा आरोप स्वीकार गरेर सम्पूर्ण रूपले आत्मसमर्पण गर्नुपर्थ्यो, त्यो कुनै पनि राजनीतिकर्मीका लागि स्वीकार्य हुने विकल्पै भएन । पार्टी र सरकारको नेतृत्व हस्तान्तरण, पार्टी एकता सारा कुराका निम्ति जे–जे लचकता प्रदर्शन भएको थियो, ती सबैलाई उहाँहरूले लत्याइदिनुभएको हो नि’ उनले भनेका छन् ‘प्रधानमन्त्रीका सामु योबाहेक अर्को बाटो थिएन । साथीहरूले चौतर्फी घेराबन्दीबाट यस्तो बिन्दुमा पुर्याउनुभयो कि मुलुकलाई निकास दिन यो एउटा बाध्यकारी निर्णय लिनुपर्यो । नेताहरूलाई एउटा अवसर पनि छ । साथीहरूले केपी ओलीका कारण दुई तिहाइ आएको होइन भन्दै हुनुहुन्थ्यो, अब लोकप्रियता मापन गर्न, परीक्षण गर्न र विजयी हुनका लागि उहाँहरूलाई सहज बाटो खुलेको छ । अब थप तिक्तता गरिरहनुपर्ने जरुरी भएन । खालि ध्यान केन्द्रित गरेर निर्वाचनतिर जानु नै उपयुक्त हुन्छ जस्तो लाग्छ ।’
प्रतिक्रिया