निजगढ विमानस्थल निर्माणका लागि ४४ करोड बराबरकाे मुआब्जा वितरण

बारामा निर्माण हुन लागेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा परेको जग्गामध्ये हालसम्म १ सय ४४ जग्गा धनीलाई ४४ करोड रुपैयाँबराबर मुआब्जा वितरण गरिएको छ । निजगढ विमानस्थल निर्माण क्षेत्रमा रहेको १ सय १० बिघा तीन कट्ठा जग्गामध्ये हालसम्म नागरिक उड्डयन प्राधिकरणले ४४ करोडको मुआब्जा दिएर हालसम्म ६५ बिघा तीन कट्ठा १२ धुर जग्गा आफ्नो नाममा फिर्ता लिइसकिएको छ । कोरोना संक्रमण कारण नापी तथा मालपोत कार्यालय लामो समयदेखि बन्द रहेकाले मुआब्जा वितरण प्रभावित भए पनि अहिले सो मुआब्जा वितरण भइरहेको दोस्रो विमानस्थल आयोजना कार्यालय सिमराले जनाएको छ । मुआब्जा लिन बाँकी रहेका जग्गाधनीसँग निवेदन लिने कार्य भइरहेको विमानस्थल आयोजनाका निमित्त प्रमुख विजय यादवले बताए । मुआब्जा वितरण कार्यअन्तर्गत मुख्य सडकसँग जोडिएको जग्गाको प्रतिकट्ठा चार लाख ६० हजार, भित्री सडकसँग जोडिएको जग्गाको प्रतिकट्ठा दुई लाख ४९ हजार २ सय ५० र बाटो नभएको जग्गाको प्रतिकट्ठा दुई लाख चार हजार १५० रुपैयाँका दरले जग्गा धनीलाई मुआब्जा दिने गरेको बताइएको छ । तटबन्ध, मुआब्जा, नदी नियन्त्रण कार्य, विमानस्थल क्षेत्रमा जग्गाको तारबार पसहा तथा दशैया खोलामा तटबन्धलगायतका काममा हालसम्म ८० करोड रुपैयाँ खर्च भइसकेको छ । पाँच वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिएको सो आयोजनाले हालसम्म पूर्व तयारीको काम मात्र गर्न सकेको भए पनि मुख्य काम भने शुरु गर्न नसकिएको बताइएको छ । संघीय सरकारको प्राथमिकतामा रहेको सो आयोजनाको धावनमार्ग निर्माण हुने मध्य भागमा टाँगिया बस्ती रहेकाले सो बस्तीलाई अन्य ठाउँमा हस्तान्तरणका लागि सरकारले वैकल्पिक स्थानको पहिचान र अध्ययन गरिरहेको छ । यसैबीच सो विमानस्थल निर्माणका क्रममा एक हजार ९ सय हेक्टर क्षेत्रफललाई १२ वटा कार्य क्षेत्रमा विभाजन गरी वन क्षेत्रभित्र रहेको रुख र विद्युतीय खम्बाको गणना शुरु गरेको छ । पहिलो चरणमा डिभिजन वन कार्यालय बाराले दुइ सय हेक्टर क्षेत्रफलमा रहेको ५७ हजार ३ सय ५० वटा खम्बा र रुख काट्नुपर्ने बताइएको छ । वन क्षेत्रभित्र ६० प्रतिशत विद्युतीय खम्बा र ४० प्रतिशत रुख काट्नुपर्ने कार्य चुनौतीपूर्ण रहेको छ । सोसम्बन्धी कार्य तीव्र गतिमा भइरहेको विमानस्थल आयोजना कार्यालय सिमराले जनाएको छ । रासस
प्रतिक्रिया