‘सूर्य’ चुनाव चिन्ह अब कसको ?

काठमाडौँ । पछिल्लो राजनीतिक घटनाले नेपाल कम्युनिष्ट पार्टीको विभाजन निश्चित छ । मंगलबार केपी शर्मा ओली पक्ष र प्रचण्ड पक्षले छुट्टा छुट्टै समयमा केन्द्रीय समितिको वैठक राखेका छन् । प्रचण्ड समूहले बोलाएको केन्द्रीय समितिको बैठकमा संसद विघटन गरेकोमा केपी शर्मा ओलीलाई कारबाही गर्ने प्रस्ताव जाँदैछ । केपी ओलीलाई कारबाही गर्ने गरी केन्द्रीय समितिमा जाने प्रस्ताव आइतबारको स्थायी समितिको बैठकले निर्णय गरिसकेको छ । त्यही कारण प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड समूहले राखेको मिति भन्दा ५ घण्टा अघि केन्द्रीय समितिको वैठक बोलाएका छन् । ओलीले बोलाएका केन्द्रीय समितिको वैठकले पनि कार्यकारी अध्यक्ष प्रचण्ड सहितका केन्द्रीय सदस्यहरुलाई पार्टीबाट कारबाही गर्ने निर्णय गर्ने तयारी गरेको छ । यी दुई घटनासँगै मंगलबार संभवत नेकपा विभाजन हुनेछ । र नेकपाको विभाजन अब आम नेपालीहरुका लागि नौलो विषय बन्ने छैन । यदि फेरि पनि नेकपामा एकता कायम रह्यो भने मात्र अनौठो विषय बन्नेछ । विभाजनपछि सूर्य चिन्ह कस्को ? विभाजनपछि नेकपाको नाममा रहेको चुनाव चिन्ह कसको हुने भन्ने मुख्य विवादको विषय बन्दैछ । सोमबार आफू निकटका निवर्तमान सांसद तथा केन्द्रीय सदस्यहरुलाई संबोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले परिस्थिती आफ्नो अनुकुलतामा आउने रिर्पोटिङ गरेका छन् । त्यसक्रममा उनले चुनाव चिन्ह सूर्य पनि आफूहरुको हुने विश्वास दिलाएका थिए । यस्तै सोमबार नै कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीमा आफूहरुसँग दुई तिहाई बहुमत भएकाले ढुक्क हुन भनेका थिए । यसको अर्थ नेकपाको संस्थागत सम्पत्ति चुनाव चिन्ह, पार्टीको झण्डा सबै नेकपासँग हुनेछ । र नेकपा प्रचण्ड समूहसँग रहनेछ । राजनीतिक दल सम्वन्धि कानूनका आधारमा हेर्दा विभाजनपछि जोसँग बहुमत रहन्छ, त्यहीसँग सूर्य चिन्ह रहन्छ । तर कानुनी जटिलता फरक छ । यस्तो छ कानुनी व्यवस्था आजसम्म चुनाव चिन्ह सूर्य नेकपाको हो । यस सम्वन्धि ब्याख्याका लागि प्रयोग हुने कानून राजनीतिक दल सम्वन्धि ऐनको दफा ३३ हो । यो कानूनको दफा ३३ ले कुनै पार्टी संसदीय दलमा ४० प्रतिशत र केन्द्रीय कमिटीमा ४० प्रतिशत भयो भने पार्टी विभाजन हुन सक्छ भनेको छ । तर अहिले संसद नै नभएका कारण दल विभाजनका लागि संसदीय दलमा ४० प्रतिशतको समर्थन चाहिदैन । अब ४० प्रतिशत केन्द्रीय समितिको हस्ताक्षर गरेर जान सक्ने सुविधा छ । तर ४० प्रतिशत केन्द्रीय सदस्यको हस्ताक्षर पुर्याएर पार्टी विभाजन गर्नेको नेकपा पार्टीमा दावी हुँदैन । त्यतिबेला ४० प्रतिशत समूहले नयाँ पार्टी दर्ता गर्नुपर्ने हुन्छ । अझै प्रष्ट भन्दा जसले पहिला पार्टी विभाजन गरेको घोषणा गर्छ, र निर्वाचन आयोगमा निवेदन दिन्छ, त्यसले साविकको पार्टीमा दावी गर्न पाउँदैन । तर त्यही कानूनको दफा ४५ मा अर्को व्यवस्था छ । त्यो व्यवस्था अनुसार पार्टीले कारबाही गरेको व्यक्तिले आफ्नो पक्षमा ४० प्रतिशत हस्ताक्षर सहित मलाई यसरी कारबाही गरियो तर यो गलत हो भनेर निर्वाचन आयोगमा उजुरी दिन सक्ने व्यवस्था छ । त्यस्तो उजुरी परेमा आयोगले सम्पूर्ण दस्तावेज हरेर फैसला गर्नेछ । त्यस्तो बेलामा आयोगले केन्द्रीय समितिमा जोसँग ५१ प्रतिशत वा भन्दा बढी बहुमत रहन्छ, उसैलाई पार्टी र चुनाव चिन्ह दिन्छ । र अर्को पक्षलाई नयाँ पार्टी दर्ता गर्न सुझाव दिन्छ । केपी ओलीले सूर्य चिन्ह पाउने यो आधार राजनीतिक दल सम्वन्धि ऐनको दफा ५१ अनुसार पार्टीले कसैलाई कारबाही गरेमा त्यसको सुचना निर्वाचन आयोगमा दिनुपर्ने हुन्छ । निवेदनमा पार्टीबाट निम्न व्यक्तिहरुलाई कारबाही गरी हटाइएकाले आयोगमा भएको केन्द्रीय सदस्यको सूचीबाट हटाउन निवेदन दिन्छ । त्यस्तो निवेदनका आधारमा आयोगले छानविन गरि कानूनी प्रकृया पुरा भए नभएको हेरी निर्णय गर्छ । यही दफालाई टेकेर केपी शर्मा ओलीले मंगलबार विहान ९ बस्ने केन्द्रीय समितिको बैठकबाट प्रचण्ड सहितका केन्द्रीय सदस्यहरुलाई कारबाही गर्न सक्छन् । र, त्यसको सूचना निर्वाचन आयोगमा दिन सक्छन् । त्यस्तो अवस्थामा ओलीले पार्टी अध्यक्षको हैसियतमा प्रचण्डलाई कारबाही गर्ने र निर्वाचन आयोगले पहिला कारबाही गरेको आधारमा चुनाव चिन्ह केपी ओलीको समूहलाई दिन सक्नेछ ।
ताजा अपडेट
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
-
विशेष अदालतको फैसलामाथि सर्वोच्चमा पुनरावेदन
-
१० महिनामा वीरगञ्ज भन्सारबाट कति उठ्यो राजस्व ?
-
आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता
प्रतिक्रिया