ललितपुर महानगरपालिकाको ४ दिने फायर फाईटिङ तथा उद्धार तालिम सम्पन्न

काठमाडौं । ललितपुर महानगरपालिको ४ दिने फायर फाईटिङ तथा उद्धार तालिम सम्पन्न भएको छ । नगरपालिकाले पुस १० गते देखि १३ गतेसम्म उक्त तालिम सञ्चालन गरेको थियो । उक्त तालिम ललितपुर महानगरपालिका दमकल, जावलाखेलमा भएको थियो । विपद् व्यवस्थापनका लागि पूर्वतयारी, जोखिम न्यूनीकरण, प्रतिकार्य र पुनर्स्थापना जस्ता कार्यको व्यवस्थापन हुन नसक्दा विशेष गरी हिउदयामको समयमा, आगलागीको जोखिम वढ्दै गएकाले तालिम संचालन गरिएको महानगरपालिकाले जानकारी दिएको छ । ललितपुर नगरपालिकाका विपद् व्यवस्थापन प्रमुख हरिशचन्द्र लामिछानेले वहुप्रकोप जोखिमयुक्त सहरी क्षेत्रमा विपद् जोखिम न्यूनीकरण तथा आपतकालीन प्रतिकार्य क्षमता अभिवृद्धिका लागि तालिम महत्वपूर्ण रहेको जानकारी दिएका छन् । यस चार दिने तालिममा अग्नि नियन्त्रणका विधि तथा उद्धारका तरिका र अग्नि नियन्त्रणका सामग्री चलाउने विधि सिकाइने प्रशिक्षक एवं काठमाडौं फायर ब्रिगेडका पुर्व फायर चिफ किशोर कुमार भट्टराईले जानकारी दिए । तालिम संचालनका लागि युरोपेली युनियनको मानवीय सहायता विभागको आर्थिक सहयोग, संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रमको प्राविधिक सहयोग तथा स्थानीय संस्था र एफएससीएनको साझेदारी रहेको छ। संस्थाले महानगरपालिकालाई अग्नि नियन्त्रण, खोज तथा उद्धारका सामग्रीसहित प्राथमिक उपचारका सामग्री उपलब्ध गराएको संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रमको बृहद विपद् जोखिम व्यवस्थापन कार्यक्रमका संयोजक सुशान्त शर्माले जानकारी दिए । यस्तै, तालिम गत साता भरतपुर महानगरपालिका तथा भिमेश्वर नगरपालिकामा पनि संचालन गरिएको थियो । तालिममा नगरपालिकाको दमकलकर्मी र विभिन्न संघ संस्थाका प्रतिनिधि लगायत ७५ जना सहभागी भएका थिए ।
प्रतिक्रिया