NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

बिहीबार सेयर बजारमा नयाँ कीर्तिमान

काठमाडौं । सेयर बजारमा नयाँ कीर्तिमान कायम भएको छ । सन् २०२० को अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचकले अहिलेसम्म कै नयाँ रेकर्ड बनाएको छ । यस दिन नेप्सेले यस अघिको सबैभन्दा माथि पुगेको नयाँ रकर्ड २०७१ लाई तोड्दै नयाँ रेकर्ड बनाएको हो । आज नेप्से परिसूचक २५.२१ अंक बढेर २०८७.२७ विन्दुमा पुगेको छ । यस अघि नेप्सेको अलटाइम हाइ २०७१.०३ विन्दु थियो । अघिल्लो दिन २०६२.०६ बिन्दुमा बन्द भएको नेप्सेले अलटाइम हाइ रेकर्डलाई यस दिन प्रि ओपन सेसनमै तोडेको थियो । यस दिन नेप्सेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । बिहीबार २०७ कम्पनीको ५० हजार ३८६ पटकको कारोबारमा ५ अर्ब ७० करोड ३४ लाख ६९ हजार रुपैयाँ बराबरको १ करोड १४ लाख ६४ हजार कित्ता शेयर खरिदबिक्री भएको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ । अघिल्लो दिन बजारमा करिब साढे ४ अर्बको शेयर कारोबार भएको थियो । यस दिन साल्ट ट्रेडिङ्ग कर्पोरेशनको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको सेयरमूल्य यस दिन ५७१ रुपैयाँ बढेर ६ हजार २८१ रुपैयाँमा अन्तिम कारोबार भएको हो । त्यसैगरी, एभरेष्ट बैंकको सेयरमूल्य यस दिन ६.६७ प्रतिशत, गुडविल फाइनान्सको ५.९७ प्रतिशत, लक्ष्मी बैंकको ५.९३ प्रतिशत, सिद्धार्थ बैंकको ५.५७ प्रतिशत र नेपाल एसबिआई बैंकको ५.१७ प्रतिशत बढेको छ । यस दिन नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य भने ३.७८ प्रतिशत घटेको छ । बिहीबार कारोबारमा आएका १२ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेर हरियो भएको छ भने १ उपसमूहको परिसूचक घटेको छ । यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ८.८९ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकिङ्ग उपसमूहको परिसूचक यस दिन १.९७ प्रतिशत, अन्यको १.४५ प्रतिशत र जीवन बीमाको १.४५ प्रतिशत बढेको छ । यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक भने सर्वाधिक १.०१ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरी लिमिटेड शीर्ष स्थानमा रहेको छ । यस दिन सो कम्पनीको ४६ करोड ८८ लाख १८ हजार रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ। कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन भएका कारण यस कम्पनीमा लगानीकर्ताहरुको आकर्षण बढेको हो ।