NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

नेवानिलाई सधैं दया नगरौं ग्राउन्ड ह्यान्डलिङ प्रतिस्पर्धाबाट दिउँ : कर्मचारी युनियन

काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान)को कर्मचारी ट्रेड युनियनका अध्यक्ष श्रवणकुमार यादवले नेपाल वायुसेवा निगमलाई सरकारले सधैं दया गरिरहनु आवश्यक नभएको बताएका छन् । निगमले पाउँदै आएको ग्राउन्ड ह्यान्डलिङ प्रतिस्पर्धाको आधारमा हुनुपर्ने र यसमा सरकारले सधै दया गर्नु नपर्ने उनको भनाई छ । निगमले ग्राउन्ड ह्यान्डलिङतिर भन्दा पनि जहाज उडाएर व्यवसाय गर्नतिर लाग्नुपर्ने उलने बताए । क्यानको २२ औं वार्षिकोत्सवमा आयोजित कार्यक्रममा यादवले नेवानीले पाउँदै आएको ग्राउन्ड ह्यान्डलिङ सेवा दरखास्त आह्वान गरेर खुला प्रतिस्पर्धाका आधारमा दिइनुपर्ने बताएका हुन् । उनले निर्माणाधीन पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङकोे जिम्मा दिएकोमा उनले असन्तुष्टि जनाएका थिए । ‘अन्तर्राष्ट्रियस्तरको कम्पनीसँग खुल्ला प्रतिस्पर्धामा जाऔं,’ उनले भने, ‘जसले धेरै रोयल्टी तिर्छ उसैलाई दिऔं ।’ निगमले त्रिभुवन विमानस्थलमा दिँदै आएको ग्राउन्ड ह्यान्डलिङ सेवा स्तरीय नभएको बताउँदै उनले भने, ‘गल्ती गर्ने नेपाल वायुसेवा निगम, गाली खाने प्राधिकरण ।’ निगमको सेवा प्रभावकारी नहुँदा प्राधिकरणले खप्नुपर्ने सास्तीबारे उनले खरो रुपमा प्रतिवाद गरेका थिए । निगमले ग्राउन्ड ह्यान्डलिङबाट कमाउँदै आएको नाफा पारदर्शी रुपमा पेश गर्नुपर्नेमा जोड दिए । कम्पनीले सेवा दिन नसके दक्ष जनशक्ति र उपकरण भएको प्राधिकरणले नै सेवा दिन सक्ने उनको दाबी थियो । त्रिभुवन विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालन गरेबापत निगमले वार्षिक ५ अर्ब भन्दा बढी नाफा आर्जन गर्दै आएको छ ।