सामाजिक संजालमा लेख्दा पक्राउ परेका कार्यकर्ता रिहाई गर्न कांग्रेसको माग

काठमाडाैं । कांग्रेसले विद्युतीय कारोबार ऐनको दुरुपयोग गर्दै आफ्ना कार्यकर्ता डिल्लीबहादुर चन्दलाई पक्राउ गरिएको भत्न्दै तत्काल रिहाई गर्न माग गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै चन्दलाई तत्काल रिहाई गर्न माग गरेका हुन् । नेपालगञ्जमा गिरफ्तार गरेर काठमाडौ ल्याइएको घटनाको कांग्रेसले निन्दा गरेको छ । ‘कोरोनाको महामारी चलिरहेका बेला दल विभाजनको अध्यादेश ल्याउनु, सांसद अपहरणको अभियोग लाग्नु, मुद्दा दर्ता नगर्न प्रहरीलाई दबाब दिनु जस्ता घटना भएका बेला एक होइन हजारौं डिल्ली चन्दहरुले घटनाको विरोध गरेर सामाजिक सञ्जालमा लेखेकै हुन्’ विज्ञप्तिमा उल्लेख छ, ‘त्यस प्रकृतिको कुनै लेखाइले कुनै पनि व्क्तिलाई गाली बेइज्जती गरेको स्थिति हो भने त्यस्तो घटनामा कारवाहीका लागि ०७४ मा जारी गरिएको मुलुकी अपराध संहितामा अलग्गै व्वस्था छ । तर त्यो कानूनी प्रक्रिया भन्दा विपरीत गएर प्रतिशोधपूर्ण ढंगले गिरफ्तार गर्नु भनेको सत्ताको आडमा विद्युतीय कारोबार ऐन र प्रहरी समेतको दुरुपयोग गरिएको उदाहरण हो ।’ पूर्व प्रहरीसमेत रहेका चन्द स्थानीय एक निजि क्षेत्रको कार्यालयमा सुरक्षा गार्डका रूपमा काम गरेर परिवार पालिरहेका छन् । सत्ता र शक्तिको निकट रहेकाले श्रम गरेर बांचेको नागरिकमाथि देखाउन खोजेको तुजुक निन्दनीय भएको कांग्रेसको भनाई छ ।
प्रतिक्रिया