टिकटकबाट पर्यटन प्रवर्धन गर्दै पर्यटन बोर्ड

काठमाडौं । नेपाल पर्यटन बोर्ड अब टिकटकमार्फत आन्तरिक पर्यटन प्रवर्धनमा जोडिने भएको छ ।पर्यटन प्रवर्धनको लागि सुरु भएको देशदर्शन अभियानलाई सहयोग हुनेगरी बोर्ड टिकटकमा पनि जोडिएको हो । संस्थाको २२ औं वार्षिकोत्सवको अवसरमा बोर्डले घरेलु पर्यटन गीत पनि सार्वजनिक पनि गरेको छ । देशदर्शन अभियानको लागि उक्त गीतसँगै विश्वभरबाट नेपाललाई माया गर्नेहरूलाई जोड्नका लागि ‘फ्रेन्ड्स अफ नेपाल’ वेबसाइट पनि बोर्डले सुरुवात गरेको छ । त्यस्तैगरी चिनियाँ पर्यटकलाई केन्द्रित गरेर बोर्डले आधिकारिक ‘विच्याट अकाउन्ट’ पनि सञ्चालनमा ल्याएको छ । नेपालमा भारतीय पछि चिनियाँ पर्यटक बढी आउने भएकाले उनीहरूलाई लक्षित गरेर उक्त अकाउन्ट खोलिएको बोर्डका प्रवक्ता मणिराज लामिछानेले बताए । बिहीबार आयोजित बोर्डको २२ औं वार्षिकोत्सव कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल, मन्त्रालयका सचिव यादव प्रसाद कोइराला, नेसनल एसोसिएसन अफ टुुर एन्ड ट्राभल एजेन्टस्(नाट्टा) का अध्यक्ष अच्यूत गुरागाईंलगायतको उपस्थिति थियो ।
प्रतिक्रिया