भक्तपुर अस्पताल बन्यो प्रदेशकै उत्कृष्ट अस्पताल

काठमाडौं । भक्तपुर अस्पताल यस वर्ष प्रदेश भरिकै उत्कृष्ट अस्पताल बनेको छ । अस्पताल मूल्यांकनमा ८२ अंक प्राप्त गरी यस वर्ष प्रदेश अस्पतालमा उत्कृष्ट अस्पताल हुन सफल भएको छ । भक्तपुर अस्पतालमा शुक्रबार आयोजना गरिएको अस्पताल व्यवस्थापन सुदृढीकरणअन्तर्गत न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रममा भक्तपुर अस्पताल देशकै उत्कृष्ट अस्पतालमध्ये अग्रपङ्क्तिमा उभिन सफल भएको घोषणा गरिएको हो । स्वास्थ्य मन्त्रालयको न्यूनतम सेवा मापदण्डमा अस्पतालको सेवा प्रवाहको अवस्था मूल्यांकन गर्ने क्रममा आएको सरकारी मूल्यकन टोलीले गरेको मूल्यांकनअनुसार दिएको नम्बरको आधारमा भक्तपुर अस्पतालले सबैभन्दा धेरै नम्बर प्राप्त गरेको हो । उक्त मूल्यांकन टोलीले भक्तपुर अस्पतालले न्यूनतम सेवा मापदण्डमा द्रुत गतिमा प्रगति गर्दै सर्वोत्कृष्ट नतिजा ल्याएको पुष्टि गरेको हो । अस्पतालको स्थलगत अवलोकन र मूल्यांकनमा भक्तपुर अस्पतालले ८२ अंक प्राप्त गरी उत्कृष्ट नतिजा निकालेको वाग्मती प्रदेशका स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर अर्जुन सापकोटाले बताए । गत वर्ष यस्तै मूल्यांकनमा भक्तपुर अस्पतालले आफ्नो खराव अवस्थाका कारण ३८ अंकमा चित्त बुझाउनुपरेको थियो ।
प्रतिक्रिया