चैतसम्ममा मेलम्ची काठमाडौं आउने

चौतारा । मेलम्ची खानेपानी चैतसम्म काठमाडौं आइपुग्ने भएको छ । गत असारमा सुरुङमा समस्या देखिएपछि मेलम्चीको काम केही समयलाई प्रभावित भएको थियो । सुरुङको समस्यालाई सुधार गरी सुरुङको काम ९९ प्रतिशत सम्पन्न भए पनि विभिन्न चरणको प्राविधिक परीक्षण गर्न समय लागिरहेकाले आगामी चैत अन्तिमसम्म मेलम्चीको पानी काठमाडौं आइपुग्ने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी सिडिइ राजेन्द्र पन्तले बताए । जर्मनीबाट आएका चारजना प्राविधिकले आयोजनाको निरीक्षणका साथै डिजाइन तथा सम्पूर्ण रिपोर्टमा समेत अध्ययन गरी सकेपनि अन्तिम प्रतिवेदन प्राप्त हुन बाँकी रहेको पन्त बताउँछन् । प्राप्त प्रतिवेदनलाई नेपाली प्राविधिक र ठेकेदार कम्पनीबीच छलफलपछि मात्र सुरुङमा पानी राखिने कार्यक्रम रहेको छ । पानी सुरुङमा हालेपछि पनि दुई महिनाको समय लाग्ने र सबै कुरामा सन्तोषजनक देखिएपछि मात्र काठमाडौं पठाइने पन्त बताउँछन् । उनले भने, ‘सबै कुरा सन्तोषजनक भएमा चैतसम्ममा मेलम्चीको पानी काठमाडौं आइपुग्छ ।’ गत असारमा फुटेका सुरुङको दुईवटा ढोका फुटेको थियो । उक्त दुई ढोका भारतीय कम्पनीमार्फत जडान भइसकेको र अहिले सुरुङको ९९ प्रतिशत काम सम्पन्न पन्तले बताए । समयमा अन्य आवश्यक काम भएमा चैतसम्मा मेलम्चीको पानी काठमाडौं आइपुग्ने उनले बताए ।
प्रतिक्रिया