NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

वेटल्याण्ड इन्टरनेशनलको समन्वयमा नेपालमा जलपन्छी गणना सुरु

काठमाडौं । नेपालमा हिउँदको समयमा बसाइँसराइ गरेर आउने जलपन्छीको गणना सुरु भएको छ । हिउँदको चिसो बढेसँगै चराहरूको बसाइँसराइ हुने समयमा सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक चराको विवरण र अवस्था पत्ता लगाउन तथा सङ्ख्याको अध्यावधिक गर्न शनिबारदेखि जलपन्छीको गणना सुरु भएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पन्छी संरक्षण संघ, हिमाली प्रकृति र स्थानियस्तरमा चरा तथा जैविक विविधता संरक्षणको क्षेत्रमा काम गर्ने संस्थाको हातेमालोमा गरिने यस गणनाको विश्वव्यापी रुपमा समन्वय वेटल्याण्ड इन्टरनेशनल संस्थाले गरेको छ । नेपालमा पुस १८ देखि माघ ५ गते (जनवरी २ देखि १८) सम्म हुने जलपन्छी गणनामा यस क्षेत्रका विज्ञ, सम्बन्धित संघसंस्थाका प्रतिनिधि, स्थानीय स्वयंसेवीलगायत गरी ३०० भन्दा बढी जनशक्ति सम्लग्न रहेको बताइएको छ । यस वर्ष कोभिड–१९ को संक्रणका कारण स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर गणना गर्न आयोजक संस्थाले आग्रह गरेका छन् । सिमसार र आसपासको क्षेत्रमा प्रजनन गर्ने, चरन गर्ने र आफ्नो अधिकांश समय व्यतीत गर्ने चराका प्रजातिलाई पानी चरा अथवा जलपन्छी भनिन्छ । नेपालमा १०० भन्दा बढी प्रजातिका जलपन्छी रहेको र त्यसमध्ये अधिकांश पाहुना चरा रहेको बताइन्छ । स्वयंसेवीरूपमा गरिएको यस गणनामा स्थानीय समुदाय र सरोकारवाला निकायलाई सहभागी बनाई संरक्षणमा जनचेतना अभिवृद्धिसमेत गर्ने उद्देश्य रहेको गणनाका राष्ट्रिय संयोजक डा. हेमसागर बराल बताउँछन् । मुलुकभरका पाँच दर्जन बढी सिमसार क्षेत्र, तालतलैया र नदीमा गरिने जलपन्छी गणना तराई क्षेत्रका सिमसार क्षेत्रमा बढी केन्द्रित हुनेछ । शनिबार पूर्वको कोशी टप्पु वन्यजन्तु आरक्ष र सुदूरपश्चिमको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट गणनाको सुरुवात भएको बरालले बताए । वेटल्याण्ड इन्टरनेशनलको अगुवाइमा विश्वभर नै यही समयमा जलपन्छी गणना हुने भएकाले विश्वभरकै जलपन्छीको सङ्ख्या आँकलन हुने उनी बताउँछन् । यस गणनामा चरा चिन्ने विज्ञको नेतृत्वमा अन्य सहभागीको सहयोगले चरा पहिचान गरी गणना गरिन्छ । गणनाको विवरण विभागलाई बुझाइने र सार्वजनिक गरिने बराल बताउँछन् । गणनामा सहयोग र समन्वयका लागि विभागले मातहतका सबै कार्यालयलाई पत्र पठाइसकेको जनाएको छ ।