सेवा प्रभावकारी र स्तरीय बनाउन वडामा नागरिकको निगरानी

महेन्द्रनगर । सेवा प्रवाह प्रभावकारी र स्तरीय बनाउन कञ्चनपुरको कृष्णपुरमा स्थानीय नागरिकले वडाका गतिविधिमाथि निगरानी राख्न थालेका छन् । यहाँको कृष्णपुर नगरपालिका–१ का स्थानीय वडा कार्यालयलको हरेक गतिविधिमा निगरानी गर्दै आएका हुन् । सञ्जिवनी नेपालले पारस्परिक जवाफदेहीता परियोजनाअन्तर्गत उक्त वडामा स्थानीयसभा गठन गरेपछि सुशासन र वडा कार्यालयबाट हुने सेवा प्रवाहमा प्रभावकारिताका लागि स्थानीयले वडा कार्यालयबाट हुने सेवा प्रवाह र विकास निर्माणका आयोजनामा निगरानी गरिरहेको स्थानीय शिक्षक भक्तराज भण्डारी बताउँछन् । वडा कार्यालयबाट हुने योजना र बजेटकाबारेमा वडाका केही व्यक्तिबाहेक कसैलाई थाहा नभएको र स्थानीयसभा गठनपछि वडाका अधिकांश समस्या समाधान भएको उनको भनाइ छ । वडामा रहेका आमासमूह, शिक्षक, विभिन्न टोलका अगुवा मिलेर गठन गरेको स्थानीयसभाले वडा कार्यालयबाट हुने सेवा प्रभाव, विकास निर्माणका योजना र समाजमा रहेका अन्य समस्याका विषयमा १५ दिन अथवा तीन महिनामा छलफल गरी सुशासन र पारर्दशीताका लागि आवाज उठाउने गरेका छन् । सभामा छलफल गरेर वडा कार्यालयबाट हुने सेवा प्रवाहमा ढिलासुस्ती, विकास निर्माणमा हुने अनियमितता तथा समुदायमा रहेका अन्य समस्याका विषयमा समेत छलफल गरी समस्या समाधानका लागि वडाध्यक्षलाई अथवा नगर प्रमुखलाई सुझाव दिने गरेको स्थानीयसभाका सदस्यको भनाइ छ ।
प्रतिक्रिया