NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

कोशी करिडोरमा ट्रयाक खोल्नेसँगै सडक स्तरोन्नतिको काम सुरु

काठमाडौं । उत्तर–दक्षिण करिडोरअन्तर्गतको कोशी करिडोरमा बाँकी स्थानमा ट्रयाक खोल्ने कामसँगै सडक स्तरोन्नतिसमेत अघि बढेको छ । कठिन भौगोलक अवस्था र अरु विभिन्न चुनौती भए पनि सो करिडोर निर्माण अघि बढिरहेको छ । सो करिडोरअन्तर्गतको १४ किमी सडकको ट्रयाक खोल्न नेपाली सेनालाई जिम्मेवारी दिइएको छ । गत वर्ष फागुनमा सरकारले सेनालाई करिडोरको कामको जिम्मेवारी दिएको थियो । अहिले राजमार्गको १० किमी सडक स्तरोन्नति भइरहेको छ भने ३९ किमी सडक कालोपत्र गर्न लागिएको कोशी करिडोर खाँदबारी–किमाथांका सडक योजनाले जनाएको छ । अर्थ मन्त्रालयले कालोपत्रका लागि दुई अर्ब ६० करोड स्वीकृत गरिसकेकाले ठेक्कामा जान लागिएको योजना प्रमुख गौतमकुमार श्रेष्ठले जानकारी दिए । उनले भने, ‘आगामी साता सूचना निकाल्नका लागि आयोजना निर्देशनालयले स्वीकृति दिइसकेको छ ।’ सङ्खुवासभाको भोटखोला गाउँपालिकाको धोङगपाबाट च्याम्ताङसम्मको सडक ट्याक खुल्न बाँकी हो । खाँदबारीबाट उत्तरतर्फ च्यामताङसम्म १३४ किमी निर्माण भएको छ । नेपाल चीनको सिमाना किमाथांकाबाट धोङगपासम्म १४ किमी ट्रयाक उत्तरबाट दक्षिण खुलेको छ । बीचको खण्ड बाँकी मात्रै बाँकी भएको योजनाले जनाएको छ । जम्मा १६२ किमी लम्बाइको सडकमा १४८ ट्रयाक खुलिसकेको छ । बाँकी १४ किमी सेनालाई दिइएको र अरु खण्डमा काम भइरहेको योजना प्रमुख श्रेष्ठले जानकारी दिए । उनका अनुसार नेपाली सेना साइटमा जाने तयारी गर्दैछ । निर्माणाधीन सो राजमार्गमा विभिन्न स्थानमा कठिन भूगोल भएकाले एलाइमेन्ट लैजान गाह्रो भएको उनले बताए । उनले भने, ‘चट्टान नै चट्टान भएको ठाउँबाट सडक खोल्न गाह्रो भए पनि काम भइरहेको छ ।’ ट्रयाक खुल्न बाँकी स्थानमा खुलाउनेसँगै खुलिसकेकामा सडक स्तरोन्नतिको कामसमेत अघि बढाइएको छ । कतिपय खण्डमा कालोपत्र प्रक्रिया अघि बढाएको छ भने कतिपय खण्डमा सडक फराकिलो बनाउने काम भइरहेको श्रेष्ठले जानकारी दिए । विभिन्न स्थानमा चट्टानको क्षेत्रसँगै पहिरो जोखिम रहेको उनी बताउँछन् । उनले भने, ‘भएका सबै अवरोध हटाएर पनि सडक निर्माण र स्तरोन्नति भइरहेको हो ।’ दक्षिणमा मोरङको जोगवनीदेखि उत्तरमा सङ्खुवासभाको किमाथाङ्कासम्म रहेको छ । यसले उत्तरमा चीनको सीमादेखि दक्षिणमा भारतीय सीमालाई जोड्छ । मोरङ, सुनसरी, धनकुटा, सङ्खुवासभा र तेह्रथुमको क्षेत्र भाग भएर राजमार्ग निर्माण भइरहेको छ ।