सदर चिडियाखानामा अनलाइन टिकट काट्नेको संख्यामा बृद्धि

काठमाडौं । स्वास्थ्य मापदण्ड पूरा गर्दै आठ महिनापछि खुलेको ललितपुरमा रहेको सदर चिडियाखानामा अनलाइनबाट टिकट काट्ने अवलोकनकर्ताको संख्या बढेको छ । पहिलो पटक चिडियाखानाले अवलोकनकर्ताका लागि अनलाइन टिकटको व्यवस्था गरेको थियो । शुरुका दिनमा एक÷दुई जनाले मात्रै अनलाइनबाट टिकट काट्ने गरेकामा अहिले दैनिक १० जना पुगेका छन् । कोरोना भाइरसको जोखिमका कारण चिडियाखाना गत चैत ७ गतेदेखि बन्द थियो । गत मंसिर २५ गतेदेखि चिडियाखाना पुनः खुला गरिएको हो । चिडियाखानाको वेबसाइट वा इसेवामार्फत टिकट काट्न सकिने व्यवस्था मिलाइएको चिडियाखाना व्यावस्थापन शाखाले जनाएको छ । व्यवस्थापनले स्वास्थ्य मापदण्ड पूरा गरी तिहारपछि खोल्ने तयारी गरे पनि कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट निर्णय नआउँदा खुल्न सकेको थिएन । चिडियाखाना व्यवस्थापन प्रमुख डा. चिरञ्जीवी पोखरेलले कोरोनाको जोखिम अझै कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर चिडियाखाना खुल्ला गर्दा अवलोकनकर्ता उत्साहजनरुपमा आएको बताए । लामो समयको बन्द पछि खुलेको उक्त चिडियाखानामा शुरुका दिनमा बढीमा ५०० अवलोकनकर्ता आउने गरेका थिए । अहिले दैनिक दुई हजारसम्म अवलोकनकर्ता आउन थालेका छन् । व्यवस्थापक पोखरेलले भन्छन्, ‘जोखिम कायमै रहेकाले खुला गरे पनि अवलोकनकर्ता आउँछन् वा आउँदैनन् भन्ने विषयमा चिन्ता थियो । तर आशाअनुरुप आएका छन् । पुनःसञ्चालनकै शुरुको दिन ५०० मान्छे आएका थिए । अहिले दैनिक दुई हजार अवलोकनकर्ता आउने गरेका छन् ।’ कोरोनाको जोखिम थप नबढेमा चिडियाखानामा आउने अवलोकनकर्ताको संख्या थपिने उनले बताए ।
प्रतिक्रिया