NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

निर्वाचन निर्धारित मिति मै हुने पूर्वमन्त्री बाँस्कोटाको भनाई

काठमाडौं । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रतिनिधिसभा सदस्यको निर्वाचन निर्धारित मितिमै हुने तर्क राखेका छन् । उनले राष्ट्रिय युवा संघ नेपाल धुलिखेल नगर कमिटीद्वारा नेकपा केन्द्रीय कमिटी तथा अनेरास्ववियु केन्द्रीय कमिटीमा जिल्लाबाट मनोनीतलाई सम्मानार्थ आज आयोजित कार्यक्रममा निर्वाचन नसर्ने उल्लेख गर्दै निर्वाचनमा को कहाँ भन्ने हैसियत जनताले निर्धारण गरिदिने बताएका छन् । ‘निर्वाचन कुनै पनि हालतमा सर्दैन, निर्वाचनमा जनताले मतद्वारा जहाँ राख्छन् हामी त्यही बस्न तयार छौँ’, बाँस्कोटाले भने, ‘हामी जित्नका निम्ति कुनै हर्कत गर्दैनौँ, देशका निम्ति कुन नेता चाहिन्छ जनताले आफैँले फैसला गर्नेछन् ।’ उनले संविधानको धारा–८५ मा संसद् विघटनको अधिकार रहेको जिकिर गर्दै यसबारे निर्वाचनमा जान नचाहनेले जनतामा भ्रमण फैलाइरहेको बताएका छन् । उनले भने, ‘संविधानमा संसद् विघटन नभएको खण्डमा सरकारको अवधि पाँच वर्षको रहनेछ भन्ने उल्लेख गरिएको छँदाछँदै चुनावमा जान नचाहनेले जनतामा भ्रम छरेका हुन्, यो भ्रम बिस्तारै चिरिनेछ ।’ उनले निर्वाचनमा जनताको घरदैलोमा जाँदा सरकारले गरेको कामको ‘फेयरिस्त’ लिएर जाने बताए । ‘फेयरिस्तले वर्तमान सरकारले कुनै काम गरेन भनेर आलोचना गर्नेको मुख बन्द हुन्छ’, उनले भने, ‘नीति, सिद्धान्तमा प्रतिस्पर्धा नगरी पदको निम्ति पार्टीभित्र झगडा गर्नेले झैँ हामी पदका निम्ति जनतालाई बलिदानी दिने विचारक हैनौँ ।’ हाल प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा निर्माणको चरणमा रहेको उनले बताए ।