दोधारका बीच कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभा पुनस्थापना की नयाँ निर्वाचन भन्नेमा दुई धारमा देखिएको कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ । मुख्य गरी सभापति शेरबहादुर देउवा पक्षधर प्रतिनिधिसभा विघटनपछि अदालतमा मुद्दा चलिरहेको भन्दै तत्काल अदालतलाई दबाब दिन नहुने पक्षमा छ । तर, नेता रामचन्द्र पौडेलसहितका नेताहरु पनि प्रतिनिधिसभा पुनस्थापना नगरी प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदम नसच्चिने अडानमा छ । यस्तोमा कांग्रेसमा बैठकमा पुनस्थापना की निर्वाचन भन्नेमा आज पनि बहस हुने भएको छ । पौडेससहित नेताहरु ओलीको कदम असंवैधानिक रहेको भन्दै तत्काल आन्दोलन घोषणा गरेर दबाब दिनुपर्ने पक्षमा छ । तर, अदालतमा विचाराधीन मुद्दामा अनावश्यक दबाब दिन नहुने पक्षमा सभापति देउवा छन् । ७ पुसमा सुरु भएको केन्द्रीय समितिको बैठकमा थोरै सदस्यलाई बोल्न दिएर देउवाले बैठक लम्ब्याएका थिए । अदालतबाट एउटा निर्णय नआउँदासम्म पार्टीले औपचारिक निर्णय र कार्यक्रम सार्वजनिक नगर्ने पक्षमा देउवा छन् । तर ओलीको कदम असंवैधानिक रहेको देउवाले नै पटकपटक बताउँदै आएका छन् । तर, इतर पक्ष ओली कदमको सशक्त प्रतिवाद पनि गर्नुपर्ने पक्षमा छ । साथै, १४ औं महाधिवेशनको तयारीलाई पनि अगाडि बढाउनुपर्ने गरी तयारीमा जुट्नुपर्ने गरी प्रस्तवा अघि बढाउने सो पक्ष छ । बैठक १० पुसमा स्थगित भएकाे थियाे ।
प्रतिक्रिया