NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

आजका ‘गुड न्युज’ : कालिञ्चोकमा दुई दिनमै आठ हजार पर्यटक पुगे

काठमाडौं । आज दिनभर सञ्चारमाध्यमबाट अनेकौं खबरहरू संप्रसित भए । त्यसमा नकारात्मक भाव बोकेका खबरहरूको बर्चस्व थियो । विकृत राजनीतिका खबरहरूले सञ्चारमाध्यमहरूको अधिकांश स्थान ओगटे । नकारात्मक खबरको बाढीका बीच केही सकारात्मक सन्देशहरू पनि प्रवाहित भएका छन् ।नेपालवाचले आज दिनभर प्रकाशित यस्तै सकारात्मक खबरहरूको संक्षिप्त सूची तयार गरेको छ । आजका गुड न्युज : – लकडाउनपछि पर्यटकले भरियो कालिञ्चोक कोभिडका कारण पर्यटकीय चहलपहल सुनसान भएसँगै निरास बनेका दोलखाका अधिकांश व्यवसायी अहिले विस्तारै उत्साहित देखिन थालेका छन् । लकडाउनले सुनसान बनेका दोलखाका विभिन्न पर्यटकीय गन्तव्यमध्ये कालिञ्चोक अहिले पर्यटकले भरिभराउ भएको छ । अंग्रे्रजी नयाँ वर्ष २०२१ का अवसरमा रमाउन धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चोकमा हजारौँको संख्यामा पर्यटकको आगमन भएको छ । १० महिनादेखि सुनसान बनेको कालिञ्चोकको होटल अंगे्रजी नयाँ वर्षका अवसरमा शुक्रबार र शनिबार पूरै भरिभराउ भएका थिए । दुई दिनको अवधिमा कालिञ्चोक क्षेत्रमा करीब आठ हजार पर्यटक भित्रिएको कालिञ्चोकका होटल व्यवसायी चन्द्र लामाले बताए । दुई दिनमा करिब सात हजार मानिसले टिकट काटेर केबुलकारमार्फत कालिञ्चोक मन्दिरको दर्शन गर्न गएको कालिञ्चोक केबुलकार प्रालिले जनाएको छ । – अष्ट्रेलिया छोडी कृषिबाट मनग्य कमाइ गर्दै इलामकी कुसुम इलामको माईजोगमाई –३ नयाँ बजारकी कुसुम दाहालले भने अष्ट्रेलियाको बसाईं छोट्याएर आफ्नै गाउँमा बाख्रापालनबाट लोभलाग्दो आम्दानी गर्न सफल भएकी छिन् । नेपाल फर्किएपछि दाहालले बाख्रापालनको तालिम लिइन् । तालिमपछि उनले आफ्नो माइतीमा रहेको ५४ रोपनी जग्गा ठेक्का लिएर बाख्राको खोर बनाउने काम शुरु गरिन् । दुई वर्षअघि स्थापना भएको अन्नपूर्ण कृषि तथा पशुपालन फार्ममा अहिले ६० वटा उन्नत जातका बाख्रा छन् । फार्ममा साधन, बयर र स्थानीय जातका बाख्रा छन् । बाख्रासँगै दाहालले स्थानीय जातको कुखुरा पनि पालेकी छिन् । इलाम पर्यटकीय जिल्ला भएकाले आन्तरिक पर्यटकको पनि घुइँचो नै लाग्ने गर्छ । शुरुमा १२ लाख रुपैयाँ लगानीबाट व्यवसाय अहिले ३० लाख पुगेको छ । यो आर्थिक वर्षको छ महिनामा बाख्रा बिक्रीबाट १५ लाखभन्दा बढी आम्दानी गरेको दाहालको भनाइ छ । – सेयर बजारमा नयाँ रेकर्ड सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । नेप्से परिसूचक २ हजार १ सय ७५ दशमलव ३९ अंकले उकालो लागेर नयाँ रेकर्ड कायम भएको हो । साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ८८.१२ अंकले बढेको छ । दिनभर भएका ५४ हजार ६ सय ९८ कारोबारबाट २ सय १२ कम्पनीका १ करोड ४० लाख २६ हजार ८ सय ६६ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ६ अर्ब ३४ करोड ४० लाख १७ हजार ८८९ रुपैयाँ पुगेको छ । सूचीकृत कम्पनीहरुबाट सर्वसाधारणमा जारी भएका सेयरहरुको मात्रै कारोबार मापन गर्ने परिसूचक फ्लोट परिसूचक पनि ४ दशमलव १ प्रतिशत अर्थात ५ दशमलव ८२ अंकले बढेर १ सय ४७ दशमलव ७४ अंकमा बन्द भएको छ । यस्तै सन्सेटिभ फ्लोट परिसूचक पनि ३ दशमलव ९७ प्रतिशत अर्थात ५ दशमलव ०७ अंकले बढेर १ सय ३२ दशमलव ९७ अंकमा बन्द भएको छ ।