NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

वन्यजन्तुमैत्री विकास नहुँदा मानव र जनावर दुवै खतरामा

काठमाडौं । पुस १७ गते शुक्रबार राति नेपालगञ्जबाट उपचार गरी घर फर्कने क्रममा बर्दिया राष्ट्रिय निकुञ्जभित्र पर्ने पूर्वपश्चिम राजममार्गमा कैलालीकी नन्दकला थापाको बाघको आक्रमणमा परी मृत्यु भयो । मोटरसाइकलको पछाडि बसेकी उनलाई बाघले झम्टेर आक्रमण गरेको थियो । थापाको शनिबार घटनास्थलनजिकै क्षतविक्षत अवस्थामा शव फेला परेको थियो । अर्कातिर, पर्सा राष्ट्रिय निकुञ्जभित्र पर्ने पूर्वपश्चिम राजमार्गको अमलेखगञ्ज खण्डमा पुस १८ गते शनिबार गाडीको ठक्करबाट विश्वकै दुर्लभ पाटेबाघको मृत्यु भयो । बाटो काट्दै गरेको उक्त बाघलाई कारले ठक्कर दिएपछि घटनास्थलमै मरेको थियो । मानव र वन्यजन्तु क्षतिका यी दुई प्रतिनिधि घटना मात्र हुन् । देशका विभिन्न संरक्षित क्षेत्रका राजमार्ग, सडक वा अन्य स्थानमा मानव र वन्यजन्तुबीचको द्वन्द्वबाट हुने क्षति हरेक वर्ष बढ्दै गइरहेको एक अध्ययनका क्रममा प्राप्त तथ्यांकले देखाएको छ । रेखीय वा लामो प्रकृतिको पूर्वाधार (सडक, सिँचाइ, प्रसारणलाइन, रेलका लिंकलगायत) निर्माण गर्दा अपनाउनुपर्ने सावधानी र वातावरणीय पक्षप्रति ख्याल नगर्दा मानव र वन्यजन्तु दुवै दुर्घटनामा पर्दै आएका छन् । यी र यस्ता यस्ता घटनाबाट मुलुकले जैविक विविधता संरक्षणका क्षेत्रमा गरेको खर्च खेर गइरहेको छ भने अर्कातिर संरक्षणमा हालसम्म प्राप्त उपलब्धि पनि मासिने क्रम बढाएको छ । संरक्षणका क्षेत्रमा हालसम्म कमाएको अन्तर्राष्ट्रिय छवि र पर्यटन क्षेत्रलाई समेत यस्ता घटनाले असर गरिरहेका छन् । नेपाल वातावरण पत्रकार समूह (नेफेज)ले यस समस्यालाई सम्बोधन गर्ने गरी सरोकारवाला निकायहरुको ध्यानाकर्षण गर्ने उद्देश्यले हालै एक स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । तीन महिना स्थलगत अध्ययनपछि उक्त प्रतिवेदन सार्वजनिक भएको हो । तराईका बारादेखि कैलालीबीचका सबै जिल्लाको स्थलगत अध्ययन गरेर तयार गरिएको प्रतिवेदनमा तराईका जिल्लामा भइरहेका भौतिक पूर्वाधारको अवस्था, प्रभावित क्षेत्र, पूर्वाधार निर्माणका सकारात्मक तथा नकारात्मक पक्ष, वन्यजन्तुमैत्री निर्माणका आधार, निर्माणका क्रममा सम्बोधन गर्नुपर्ने विषय तथा क्षेत्रलाई केलाउने प्रयास गरिएको छ । अध्ययनमा पूर्व पश्चिम सडक विस्तार, हुलाकी मार्ग, सिँचाइ आयोजना (सिक्टा र रानीजमरा–कुलेरिया), मोतीहारी–अमलेखगञ्ज पाइपलाइन, चुरेमा निर्माणाधीन मदन भण्डारी राजमार्ग, ललितपुर–निजगढ फास्ट ट्र्याक, प्रस्तावित निजगढ विमानस्थललगायतका निर्माण आयोजनाहरुलाई समेटिएको छ । वन्यजन्तुमैत्री पूर्वाधार निर्माणका केही काम भए पनि ती पर्याप्त नभएको र हाल निर्माण भएकाभन्दा अझ स्तरीय र प्रभावकारी निर्माण आवश्यक देखिएको प्रतिवेदनको निष्कर्ष छ । वन्यजन्तु सजिलै र स्वतन्त्ररूपमा ओहोरदोहोर गर्नसक्ने पूर्वाधार तत्काल निर्माण गर्नुपर्ने, भौतिक पूर्वाधार निर्माण गर्नुपूर्व जैविक मार्ग, वन्यजन्तुको वासस्थान र संवेदनशील अवस्थामा रहेका बोटलनेक (वन्यजन्तु ओहोरदोहोर गर्ने साँघुरो जैविक क्षेत्र) को नक्सा तयार गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । भौतिक पूर्वाधार निर्माणका क्रममा गरिने वातावरण प्रभाव मूल्यांकन (इआइए) तथा प्रारम्भिक वातावरण परिक्षण (आइइइ) को स्तर र कार्यान्वयन प्रभावकारी देखिएको छैन । यी सबै औपचारिकता पूरा गर्ने खालका मात्र भएको अध्ययनको निष्कर्ष छ । चितवनको बरण्डाभारस्थित राजमार्गमा वन्यजन्तु ओहोरदोहोर गर्न बनाइएको अन्डरपास प्रभावकारी भएको पाइएकाले अन्य निर्माण कार्यमा पनि वन्यजन्तुको बासस्थान, गतिविधिलगायतका वैज्ञानिक तथा प्राविधिक अध्ययन गरेर मात्र अन्डरपास (वन्यजन्तु जमिनबाट ओहोरदोहोर गर्ने पुल) र ओभरपास (वन्यजन्तु ओहोरदोहोर गर्ने आकाशेपुल) बनाउनुपर्ने सुझाव दिइएको छ । पाँच महिनामा पन्ध्र जनाको मृत्यु राष्ट्रिय निकुञ्ज विभागका अनुसार हात्ती, बाघ, चितुवा र गैँडाको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या बढ्दो छ । विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/०७७ को पाँच महिनामा वन्यजन्तुको आक्रमणबाट मुलुकभर १५ जनाभन्दा बढीको मृत्यु भएको छ । त्यस्तै, वन्यजन्तुको आक्रमणबाट ३७ जना गम्भिर घाइते र २६ जना सामान्य घाइते भएका छन् । आर्थिक वर्ष २०७५/७६ मा मुलुकभर वन्यजन्तुको आक्रमणबाट ३० जना, आव २०७४/७५ मा करिब १२ जना र आव २०७३/७४ मा २२ जनाको मृत्यु भएको विभागको तथ्यांकमा देखिएको छ ।