हुम्लामा हिमपात : जनजीवन प्रभावित, किसानमा खुशी

हुम्ला । हुम्लामा आइतबार दिउसोबाट हिमपात सुरु भएको छ । आइतबार दिउँसोबाट हुम्लामा हिमपात शुरु भएपछि तापक्रम माईनसमा झरेसंगै जाडो अत्याधिक बढेको छ । हिमपात हुदा हुम्ला लगायतका हिमाली जिल्लाहरुको जनजीवन प्रभावित भएको छ । हिमपात भएपछि जहाज पनि विमानस्थलमैं थन्किएका छन् । आइतबार हुम्लामा हिमपात भएपछि तारा एयरका दुईवटा जहाज सिमकोट विमानस्थलमै थन्किएका हुन् । जहाजमा रहेको ब्याट्रिमा सामान्य समस्या आए पछि मर्मतका लागि प्राविधिक टोली लिएर अर्को जहाज आएको थियो । मर्मत गरी फर्कने बेला मौसम खराब भएपछि जहाज रोकिएको सिमकोट नागरिक विमानस्थका प्रमुख बिष्णु प्रशाद अधिकारीले बताए । हमपातले हुम्लाको उतरी नाम्खा गाउँपालिकाका प्रायः बस्तीहरुमा ४ फिट भन्दाबढी हिउँ जमेको छ । अहिले सदरमुकाम सिमकोटमा १ फिट हिउँ जम्दा सिमकोटमा तापक्रम माइनस ८ डिग्रीमा झरेको छ । आइतबार दिउँसोदेखि परेको हिमपातले हुम्लाको सिमकोट लगायतका हिमाली जिल्लामा रहेको हवाई सेवा बन्द भएको विमानस्थल श्रोतले बताएको छ । लामो समय देखि वर्षा नहुँदा समस्यामा परेका कृषक भने हिमपातले हर्षित भएका छन् । अहिले जेष्ठमा पाक्ने जौ, गहुँ र उवा छर्ने समय भएकाले हिमपात हुँदा जोत्नलाई सहज हुने भएपछि किसान खुशी भएका हुन् । लामो समय पानी नपरेकाले जमिन सुख्खा भएर जोत्न कठिन हुने देखिएका बेला हिमपातले त्यसलाई सहज बनाउने स्थानीयवासीहरुको भनाई छ । तर, जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा हिमपातले गाईवस्तु, याक चौरीलाई समस्या भएको त्यस क्षेत्रका स्थानीयले बताएका छन् । उच्च हिमाली जिल्ला हुम्लामा हिमपात भईरहेकाले यहाँका स्थानीयलाई सतर्क रहन प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीले आग्रह गरेका छन् ।
प्रतिक्रिया