न्यायाधीशहरुले देशको हितमा निर्णय गर्नेछन्ः रामचन्द्र पौडेल

तनहुँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनको मुद्दामा न्यायाधीशहरुले देशको हितमा निर्णय गर्नेमा आफू विश्वस्त रहेको बताएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ का स्व. एकनारायण खनालको नवौँ पुण्यतिथिमा शनिबार आयोजित शोकसभालाई सम्बोधन गर्दै उनले देशलाई अस्थिरताको भुमरीबाट बचाउन संसद् पुनःस्थापन हुनुपर्ने बताएका हुन् । पौडेलले संविधानबमोजिम नै अदालतमा विचाराधीन मुद्दामा फैसला हुनेमा सबै लोकतन्त्रवादी विश्वस्त रहेको बताउँदै मुलुकमा अस्थिरता कायम गरेर विकास रोक्ने षड्यन्त्र भएको हुँदा त्यसलाई चिर्न आवश्यक रहेकोमा जोड दिएका थिए । ‘चुनावमा जान काँग्रेसलाई कुनै हतार भएको छैन’, उनले भने, ‘अब चुनाव आयो, काँग्रेस ठूलो पार्टी बन्छ भनेर चुनावमा जान हतार गर्नु हुँदैन । काँग्रेस स्वार्थका लागि लड्ने पार्टी होइन ।’ जनताले विश्वास गरेर कम्युनिष्टलाई बहुमत दिए पनि जनताको विश्वासमाथि घात गर्ने काम भएको उनले आरोप लगाएका थिए ।
प्रतिक्रिया