NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ५ गते

विदेशीसँग लम्पसार परेर ओलीले पार्टी फुटाए : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशीसँग लम्पसार परेर प्रधानमन्त्री केपी ओलीले पार्टी फुटाएको आरोप लगाएका छन् । साथै प्रतिनिधिसभा विघटन गरी प्रधानमन्त्री केपी ओलीले राजतन्त्रलाई पुर्नस्थापित गर्ने प्रक्रियाको सुरुवात गरेकाे पनि आरोप लगाए । मंगलबार आफनो दल निकट पत्रकारहरुको संगठन प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले संसद विघटन गरी राजतन्त्रलाई पुनर्स्थापना गर्ने तथा देशलाई निरंकुशता तथा अराजकताको भुमरीमा लैजाने प्रक्रियाको सुरुवात गरेको आरोप लगाए । यस कदमलाई हरमूल्यमा रोक्ने पनि उनको भनाई थियो । अध्यक्ष प्रचण्डले ओलीले विदेशी शक्तिको विरोध गरेर राष्ट्रवादको नारा लगाएपनि तिनै विदेशीको लम्पसार परेर पार्टी फुटाउने दुस्साहस गरेको बताए । ओलीको राष्ट्रवाद खोक्रो तथा सामन्ती राष्ट्रवाद रहेको उनको टिप्पणी थियो । भेलामा सम्बोधन गर्दै नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपालले संसद विघटन पछि प्रधानमन्त्री केपी शर्मा ओली कामचलाउ हुन पुगेको बताए । प्रतिनिधि सभा सदस्य नै प्रधानमन्त्री हुने भन्दै उनले ओलीले कि कामचलाउ भन्नुपर्ने कि कुर्सी छोड्नुपर्ने बताए । अध्यक्ष नेपालले आफू प्रचण्डको कार्यकर्ता भनी ओलीले गरेको टिप्पणीको जवाफ दिदैँ ‘ओरिजिनल’ एमाले केपी ओली नभई आफू भएको जिकिर गरे । एकीकरणपछि एमाले तथा माओवादी पार्टी इतिहास भइसकेको भन्दै उनले अब ती पार्टी नब्युतिने बताए । अध्यक्ष नेपालले लोकतन्त्र, गठतन्त्र, संघीयता, संविधान लगायतका राजनीतिक परिवर्तनहरु संकटमा परेको भन्दै गलत कामको विरुद्ध उभिनुपर्ने बताए ।