पर्थ स्कर्चर्ससँग होबार्ट हुरिकेन्स पराजित, सन्दीपले लिए दुइ विकेट

काठमाडौं । नेपाल खेलाडी सन्दीप लामिछाने आबद्ध टिम होबार्ट हुरिकेन्स पर्थ स्कर्चसँग २२ रनले पराजित भएको छ । अष्ट्रेलियामा जारी बिग ब्यास लिगमा लामिछानेले पर्थ स्कर्चर्सविरुद्धको खेलमा दुइ विकेट लिएका थिए । टस जितेर पहिलो ब्याटिङ गरेका पर्थले २० ओभरमा आठ विकेट गुमाउँदै १ सय ७९ रन बनाएको थियो । यता लामिछाने आबद्ध होबार्टले २० ओभरमा आठ विकेट गुमाएर १ सय ५७ रन मात्रै बनायो । होबार्टका लागि लामिछानेले चार ओभरमा २७ रन खर्चिएका थिए । उनको बलिङमा एक छक्का र एक चौका प्रहार भएको थियो । लामिछानेले विपक्षी टिम पर्थका ब्याट्सम्यान लियाम लिभिङस्टोनलाई २६ रनमा र मिचेल मार्सलाई सात रनमा आउट गराएका थिए । यसअघिका दुई खेलमा लगातार विकेटविहिन बनेका लामिछानेले बिग ब्यासमा हालसम्म ६ विकेट लिएका छन् । लामिछाने आबद्ध टिमहोबार्ट हालसम्म २३ अंकसहित लिगको छैटौं स्थानमा छ ।
प्रतिक्रिया