सुदूरपश्चिममा ३९ हजार सवारी साधन कारवाहीमा

टिकापुर । सुदूरपश्चिम प्रदेशमा ६ महिनामा ३९ हजार ३०० बढी सवारी साधन कारवाहीमा परेका छन् । चालु आर्थिक वर्षको छ महिनामा सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा ट्राफिक नियम उल्लंघन गर्ने ३९ हजार ३९३ सवारी साधन कारवाहीमा परेका सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ । ट्राफिक प्रहरी कार्यालय अत्तरियाको तथ्यांकअनुसार छ महिनामा सबैभन्दा बढी १४ हजार ७८५ मोटरसाइकल, नौ हजार ६३५ जीप र कार, छ हजार ५६० ट्रक, छ हजार ५४ ट्र्याक्टर, एक हजार २२६ बस र एक हजार १३३ अन्य सवारी साधन कारवाहीमा परेका छन् । छ महिनाको अवधिमा सबैभन्दा बढी मंसिर महिनामा आठ हजार ३४० र कम भदौमा तीन हजार ५५६ सवारी साधन कारवाहीमा परेका छन् । कारवाहीमा परेका सवारी साधनबाट दुई करोड २८ लाख ६७ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी निरीक्षक मोहनबहादुर साउँदले जानकारी दिए । ‘अघिल्लो आवको ६ महिनामा ३५ हजार ९६१ सवारी साधन कारवाहीमा पर्दा दुई करोड ११ लाख ७१ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन भएको थियो’, प्रहरी निरीक्षक साउँदले भने, ‘अघिल्लो आवको तुलनामा यस वर्षको छ महिनामा तीन हजार ४३२ सवारी साधन बढी कारवाहीमा परेका छन् । जसमा गत वर्षभन्दा रु १६ लाख ९६ हजार राजस्व वढी सङ्कलन भएको देखिन्छ ।’ यस वर्ष ट्राफिक नियम बढी उल्लंघन भएका र नयाँ प्रविधिको प्रयोगले सवारी साधन बढी कारवाहीमा परेका प्रवक्ता साउँदको भनाइ छ ।
प्रतिक्रिया