NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ५ गते

निर्वाचनले अर्थतन्त्रमा सकारात्मक मद्दत पुग्ने अर्थमन्त्रीको दाबी

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचनमा हुने खर्चलाई फजुल खर्चको रुपमा चित्रण नगर्न आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्सले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले छिटो निर्वाचन गरेर सरकारले फजुल खर्च बढाउन खोजेको रुपमा मध्यावधि निर्वाचनलाई चित्रण नगर्न आग्रह गरेका हुन् । निर्वाचनका लागि खर्च हुँदा स्वभाविक रुपमा आर्थिक क्रियाकलाप बढ्ने भएकाले अर्थतन्त्रमा सकारात्मक मद्दत पुग्ने उनको भनाई छ । निर्वाचन प्रयोजनका लागि खटाइने कर्मचारीहरुलाई हुने भुक्तानी र अन्य खर्चले बजारलाई चलायमान बनाई सहयोग गर्ने अर्थमन्त्री पौडेलको भनाई छ । संविधानको प्रभावकारी कार्यान्वयनमार्फत् राजनीतिक स्थायित्व कायम गर्दै समृद्धि विकासतर्फ मुलुकलाई लैजाने बाटोमा सरकार रहेको पनि अर्थमन्त्री पौडेलको भनाई छ । निर्वाचनले राजनीतिक स्थायित्व र स्थिरतालाई खण्डित ग¥यो भन्ने बुझाई गलत भएको पनि बताए । पाँच वर्षमा हुनुपर्ने निर्वाचन छिटो वा ढिलो हुँदा राजनीतिक स्थायित्वलाई प्रतिकूल प्रभाव पर्‌यो भन्ने अर्थमा बुझ्न नहुने उनको भनाई छ । जनता, राष्ट्र, प्रगति र समृद्धिप्रति समर्पित अनुशासित प्रतिनिधि सभाको निर्माण गर्नका लागि मध्यावधि चुनाव आव्हान गरिएको पनि अर्थमन्त्री पौडेलले प्रष्ट्याए । अस्थिरता निम्त्याउने, अन्तरकलहमा अल्झिने प्रतिनिधि सभा नभई स्थिरता, विकास र समृद्धि तर्फ दृढतासाथ अगाडि बढ्ने प्रतिनिधि सभाको निर्माण अहिलेको माग रहेको पनि अर्थमन्त्री पौडेलको भनाई छ ।