फेरि आन्दोलन घोषणा गर्न देउवालाई पौडेल पक्षले दबाब दिने

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणसम्मको आन्दोलन गरेको कांग्रेसमा फेरि आन्दोलन घोषणा गर्न दबाब परेको छ । नेता रामचन्द्र पौडेल पक्षले पार्टी संस्थापनलाई आन्दोलनका कार्यक्रम घोषणा गर्न दबाब दिन लागेको हो । मंगलबार केन्द्रीय समितिको बैठक बस्नु अघि सोमबार महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगञ्जमा बसेको पौडेल पक्षका केन्द्रीय सदस्यहरुको बैठकले आन्दोलनलाई निरन्रता दिनुपर्ने निर्णय गरेको हो । ‘ओलीको असंवैधानिक कदमविरुद्ध हामी अहिलेसम्म केन्द्रीय समितिको निर्णय अनुसार अगाडि बढिरहेका छौं । उनको गलत कदम सच्याउन फेरि विरोधका कार्यक्रम केन्द्रीय समितिले अगाडि बढाउनुपर्छ भन्ने हाम्रो दृष्टिकोण हो’ छलफलमा सहभागी नेता नवीन्द्रराज जोशीले नेपालवाचसँग भने, ‘केन्द्रीय समितिको बैठकमा आन्दोलनलाई निरन्रता दिएर जानुपर्छ भन्ने आवाज उठाउने भन्ने भएको छ ।’ मंगलबार बस्ने केन्द्रीय समितिको बैठक अघि पौडेल पक्षले पुनः आफू निकटका केन्द्रीय सदस्यहरुको भेला पुनः बोलाएको छ । नेकपाले देशभर शक्ति प्रदर्शन गरिरहेको भन्दै कांग्रेसमा पनि कार्यकर्तासँग जोडिनका लागि भए पनि निर्वाचन नभए पनि तल्लो तहसम्मै जानुपर्ने आवाज उठ्दै आएको छ । तर सभापति देउवा अान्दाेल घाेषणाकाे पक्षमा छैनन् । महामन्त्रीको निवासमा भएको भेलामा नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, प्रकाशमान सिंह, डा. रामशरण महत, अर्जुननरसिंह केसी, नविन्द्रराज जोशीसहितका नेताहरु सहभागी थिए । साथै, पौडेल पक्षको बैठकले १४ औं महाधिवेशनको तयारी अन्तर्गत कुनै पनि हालतमा समायोजन र क्रियाशील सदस्यताको विषय माघ मसान्तभित्रै टुंग्याउनुपर्ने जनाएको छ । यो विषयमा पनि पार्टीको बैठकमा कुरा उठाउने जोशीले जानकारी दिए । यस अघि मंसिर मसान्तसम्म क्रियाशील सदस्यताको टुंगो लगाउने भने पनि अर्घाखाँचीबाहेकका जिल्लाले सदस्यता टुंग्याउन सकेका छैनन् । केही समय अघि माघ मसान्तभित्र सदस्यता टुंग्याउन पार्टी केन्द्रले निर्देशन दिए पनि जिल्लाहरुबाट सदस्यता टुंग्याएको जानकारी पार्टी केन्द्रमा आएको छैन । सदस्यता नै नटुंगिए पछि कांग्रेसको १४ औं महाधिवेशन अन्यौलमा परेको छ । आगामी फागुन १९ बाट अहिलेको पार्टीका सबै कार्यसमितिहरुको म्याद सकिंदैन । नियमित चार वर्षमा महाधिवेशन नभएर थप गरिएको एक वर्षमा पनि कांग्रेसले १४ औं महाधिवेशन गर्न नसकेको हो । त्यसपछि संविधानले दिएको ६ महिनाको समय महाधिवेशन गर्ने अन्तिम मिति हो । तर, प्रतिनिधिसभा विघटनपछि संकटपूर्ण राजनीतिमा महाधिवेशनमा लाग्ने की के गर्ने भन्नेमा कांग्रेस अन्यौलमा छ । प्रतिनिधिसभा पुनस्थापना नभई निर्वाचनतिर मुलुक गयो भने संस्थापनले त्यसपछि मात्रै महाधिवेशन गर्ने नीति लिएको छ । तर, पौडेल पक्षले निर्वाचन अघि १४ औं महाधिवेशन गर्नुपर्ने बताइरहेको छ । सभापतिले निर्वाचन र पौडेल पक्षले प्रतिनिधिसभा पुनस्थापनाको लागि लबिङ गरिरहेका छन् ।
प्रतिक्रिया